वीरगञ्ज । मुस्लिम समुदायको आगामी पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित तथा धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बुधबार बसेको बैठकमा पर्वको सुरक्षा, व्यवस्थापन तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा विस्तृत छलफल भएको थियो।
बैठकमा हिन्दु धार्मिक अगुवा रञ्जीत शाहले धार्मिक कार्यक्रम सञ्चालनका क्रममा संस्थागत जिम्मेवारी र जवाफदेहिताको विषय उठाउँदै हनुमान जयन्तीको उदाहरण प्रस्तुत गरेका थिए। उनले हनुमान जयन्तीका अवसरमा जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक अनुमति लिएर कार्यक्रम सञ्चालन गरिएको तथा सम्पूर्ण सुरक्षा एवं व्यवस्थापकीय जिम्मेवारी आयोजक पक्षले नै वहन गरेको स्मरण गराउँदै मोहरम पर्वका लागि पनि आयोजक संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने अडान राखे।
शाहले पर्वका क्रममा सञ्चालन हुने सम्पूर्ण कार्यक्रम, र्याली तथा शोभायात्राको सुरक्षा र अनुशासनको जिम्मेवारी सम्बन्धित आयोजक संस्थाले नै लिनुपर्ने माग समेत गरेका थिए।
उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहालले मुस्लिम समुदायका प्रतिनिधिहरूलाई आयोजक संस्थाको आधिकारिक पत्र बिहीबारभित्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिएका छन्। उनले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिए।
बैठकले पर्वलाई अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ९ बुँदे आचारसंहिता समेत जारी गरेको छ। आचारसंहिताअनुसार र्याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्र सञ्चालन गर्नुपर्ने, कुनै पनि प्रकारका हातहतियार तथा अशान्ति फैलाउने खालका उच्च ध्वनियुक्त उपकरण प्रयोग गर्न नपाइने तथा अन्य धार्मिक समुदायको भावना र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्न निषेध गरिएको छ।
त्यसैगरी प्रत्येक र्याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पर्ने सामग्रीको प्रयोग गर्न नपाइने तथा सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरिएको छ।
पर्व अवधिभर सुरक्षा व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
बैठकमा हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियार, धार्मिक अगुवा मौलाना अली अक्बर मदनी, कृष्ण कुमार साह, ओम बाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन, शाशिकपुर मियाँलगायत विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकको अन्त्यमा सहभागी सबै पक्षले वीरगञ्जको धार्मिक तथा सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।