×

वीरगञ्ज । मधेश प्रदेशका विद्यार्थी, युवा तथा नागरिकहरूको तर्फबाट मधेश विश्वविद्यालयको शैक्षिक विस्तार र गुणस्तरीय सुधारको माग गर्दै विश्वविद्यालयका उपकुलपति प्रो. डा. दीपक बहादुर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

प्रभाकर साहको नेतृत्वमा पेश गरिएको ज्ञापनपत्रमा मधेश विश्वविद्यालय स्थापना भएको चार वर्ष बितिसक्दा पनि पूर्ण विकसित प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापित हुन नसकेको उल्लेख गरिएको छ। विश्वविद्यालय हाल व्यवस्थापन, सार्वजनिक प्रशासन तथा कानुनसम्बन्धी सीमित शैक्षिक कार्यक्रममै केन्द्रित रहेको भन्दै विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक विषयहरूको अभावप्रति चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा विश्वविद्यालयलाई बहुविषयक शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आधुनिक रोजगारी बजारमा माग भएका विषयहरू तत्काल सञ्चालन गर्नुपर्ने माग गरिएको छ। साथै, विश्वविद्यालयको शैक्षिक विस्तार, कार्यक्रम सञ्चालन तथा स्रोत व्यवस्थापनमा पारदर्शिता र स्वायत्तता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, आगामी शैक्षिक सत्रभित्र विज्ञान, इन्जिनियरिङ, बीएस्सी, बीटेक तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरिएको छ। शिक्षक भर्ती प्रक्रिया तथा स्रोतसाधनको बाँडफाँडमा पारदर्शिता कायम गर्न, पूर्वाधार विकासलाई तीव्रता दिन तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि निश्चित समयसीमा घोषणा गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।

ज्ञापनपत्रमा विश्वविद्यालयलाई व्यवस्थापन, प्रशासन र कानुनका विषयमा मात्र सीमित नराखी प्रदेशस्तरीय वास्तविक बहुविषयक विश्वविद्यालयका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।

ज्ञापनपत्र बुझाउँदै प्रभाकर साहले मधेश विश्वविद्यालय सम्पूर्ण प्रदेशका युवाहरूका लागि उत्कृष्टता, अवसर र गौरवको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। उनले ज्ञापनपत्रमा उठाइएका विषयमा विश्वविद्यालय प्रशासनले सकारात्मक तथा समयमै पहल गर्ने अपेक्षा समेत व्यक्त गरेका छन्।

Back to top