×

रौतहट । भौतिक पूर्वाधार विकास कार्यालय, गौरका कार्यालय प्रमुख विजय यादवले जिम्मेवारी सम्हालेपछि जिल्लाका विकास निर्माणका आयोजना तथा कार्यालयको प्रशासनिक कामकाजले गति लिन थालेको छ। अधुरा योजनालाई समयमै सम्पन्न गर्ने र विकास निर्माणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालयले विभिन्न गतिविधि तीव्र बनाएको जनाएको छ।

कार्यालय प्रमुख यादवले जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा विकास आयोजनाहरूलाई अघि बढाइएको बताउँदै निर्माण कार्यमा गुणस्तर कायम गर्न विशेष ध्यान दिइएको जानकारी दिए।

निर्माण कार्य निर्धारित प्राविधिक इस्टिमेटअनुसार नै सम्पन्न होस् भन्ने उद्देश्यले इन्जिनियर तथा सुपरभाइजरहरूको टोलीलाई नियमित रूपमा फिल्डमा परिचालन गरिएको कार्यालयले जनाएको छ। उक्त टोलीले योजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्य सम्झौता तथा प्राविधिक मापदण्डअनुसार भए–नभएको निरन्तर निरीक्षण गरिरहेको छ।

कार्यालयका अनुसार नियमित अनुगमन र निगरानीका कारण निर्माण कार्यमा गुणस्तर कायम गर्न तथा ठेकेदार र उपभोक्ता समितिलाई जिम्मेवार बनाउन सहयोग पुगेको छ।

यादवको नेतृत्वमा कार्यालयको आन्तरिक व्यवस्थापनलाई पनि थप व्यवस्थित बनाइएको छ। सेवाग्राहीका काम छिटोछरितो र सहज रूपमा सम्पन्न गर्ने व्यवस्था मिलाइएकाले सेवा प्रवाहमा सुधार आएको कार्यालयको दाबी छ।

स्थानीय सरोकारवालाहरूले पनि पछिल्लो समय कार्यालयको कामकारबाहीमा सुधार आएको तथा विकास निर्माणका कामले गति लिएको प्रतिक्रिया दिएका छन्। जिल्लाको भौतिक पूर्वाधार विकासलाई प्रभावकारी बनाउन कार्यालयले आगामी दिनमा पनि गुणस्तरीय र समयमै योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

Back to top