रक्सौल। भारतमा अवैध रूपमा बसोबास गरिरहेको आरोपमा दुई जना उज्बेकिस्तानकी महिलालाई नेपाल प्रवेश गर्न लागेका बेला भारत–नेपाल सीमास्थित रक्सौलको मैत्री पुल नजिकबाट पक्राउ गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार रक्सौल–हरैया प्रहरी थाना क्षेत्रअन्तर्गत कस्टम चोकस्थित मैत्री पुल नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै महिलालाई सशस्त्र सीमा बल (एसएसबी)को टोलीले शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउपछि उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि हरैया प्रहरीलाई बुझाइएको छ।
पक्राउ पर्नेहरूमा ३२ वर्षीया माखफुजा डाकोनोभा र ३५ वर्षीया मुफातुना किलिचेवा रहेका छन्। माखफुजा उज्बेकिस्तानको फर्गाना प्रदेशकी निवासी हुन् भने मुफातुना समरकन्द राज्यको प्यारी जिल्लाकी बासिन्दा रहेको बताइएको छ।
प्रहरीका अनुसार दुवै महिला भारतबाट नेपाल प्रवेश गर्ने क्रममा थिए। उनीहरूको कागजात जाँच गर्दा भारतमा अवैध रूपमा बसोबास गरेको तथ्य खुलेपछि एसएसबीले नियन्त्रणमा लिएको जनाएको छ।
हाल दुवै महिलामाथि भारतमा प्रवेश गरेको अवस्था, बसोबासको विवरण तथा नेपाल जानुको उद्देश्यबारे सोधपुछ भइरहेको छ। उनीहरूले पेश गरेका कागजातहरूको समेत विस्तृत रूपमा प्रमाणीकरण गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
हरैया प्रहरीले घटनाको गम्भीर अनुसन्धानपछि विदेशी नागरिकसम्बन्धी कानुन तथा अन्य सम्बन्धित कानुनी प्रावधानअन्तर्गत आवश्यक कारबाही अघि बढाइने जनाएको छ। साथै, सुरक्षा निकायहरूले घटनाका विभिन्न पक्षबारे थप अनुसन्धान गरिरहेका छन्।