×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनमा परेपछि महानगरभित्रको सरसफाइ, सार्वजनिक व्यवस्थापन, हरियाली संरक्षण तथा सीमाक्षेत्रको ट्राफिक व्यवस्थापनमा शिथिलता देखिन थालेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार केही समयअघिसम्म व्यवस्थित र सक्रिय देखिएको महानगर पछिल्लो समय विभिन्न क्षेत्रमा सुस्त बन्दै गएको महसुस हुन थालेको छ। विशेषगरी बजार क्षेत्रको सरसफाइ, सार्वजनिक स्थलहरूको नियमित अनुगमन तथा नेपाल–भारत सीमाक्षेत्रको व्यवस्थापनमा कमी आएको उनीहरूको भनाइ छ।

वीरगञ्जको आदर्शनगर निवासी राधेश्याम गुप्ताले मेयर सिंहको कार्यकालमा बजार क्षेत्र तुलनात्मक रूपमा सफा र व्यवस्थित देखिने गरेको स्मरण गर्दै अहिले सरसफाइमा कमी देखिन थालेको बताए।

“मेयर राजेशमान सिंह हुँदा वीरगञ्ज बजार सफा र व्यवस्थित देखिन्थ्यो। अहिले उहाँ निलम्बन भएपछि सरसफाइमा केही कमी आएको महसुस हुन थालेको छ,” गुप्ताले भने।

त्यस्तै, भारतको रक्सौलका एक व्यापारीले नेपाल–भारत मैत्री (मितेरी) पुल क्षेत्रमा रोपिएका बिरुवा तथा रूखहरूको उचित रेखदेख हुन नसकेको गुनासो गरे। नियमित स्याहार–सम्भार र पानीको अभावका कारण कतिपय बिरुवाहरू सुक्न थालेको उनको भनाइ छ।

यता, वीरगञ्ज–रक्सौल आवतजावत गर्ने एक अटो चालकले मितेरी पुल क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर बन्दै गएको बताए। उनका अनुसार मेयर सिंहको कार्यकालमा हरेक चार–पाँच दिनमा नियमित अनुगमन हुने गरेकाले पुल क्षेत्रमा जामको समस्या न्यून रहने गरेको थियो।

“मेयर सिंह हुँदा मितेरी पुलको नियमित अनुगमन हुन्थ्यो, त्यसैले धेरै जाम हुँदैनथ्यो। अहिले जामका कारण यात्रु र सवारी चालकलाई दैनिक आवतजावतमा कठिनाइ भइरहेको छ,” उनले बताए।

स्थानीयवासी, व्यवसायी तथा सवारी चालकहरूले वीरगञ्जको व्यवस्थापनलाई निरन्तरता दिन महानगरपालिकाले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले व्यक्ति परिवर्तन भए पनि विकास, सरसफाइ, हरियाली संरक्षण र ट्राफिक व्यवस्थापनजस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने कामहरू प्रभावित हुन नहुने बताएका छन्।

स्थानीयहरूको भनाइअनुसार महानगरको नियमित अनुगमन, सरसफाइ अभियान, हरियाली संरक्षण तथा सीमाक्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने देखिएको छ।

Back to top