×

काठमाडौं । पछिल्लो तीन महिनादेखि नेपालमा फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ। पशुसेवा विभागका अनुसार हालसम्म देशका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला उच्च जोखिममा रहेका छन्।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहेको छ। हाल उपत्यकाबाहेक अन्य क्षेत्रमा नयाँ संक्रमण नदेखिएकाले विभागले आफ्नो ध्यान काठमाडौं उपत्यकाभित्रको संक्रमण नियन्त्रणमा केन्द्रित गरेको छ।

विभागका अनुसार हालसम्म देशभरका साना तथा ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो समय थप पाँच स्थानका नमुनामा पनि संक्रमण पुष्टि भएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणको कार्यलाई तीव्र बनाइएको छ।

बर्ड फ्लु संक्रमण पहिलो पटक गत चैत महिनाको अन्त्यतिर कागमा देखिएको थियो। त्यसपछि जेठको दोस्रो सातादेखि काठमाडौंको चन्द्रागिरि, कीर्तिपुर, टोखा र तारकेश्वरलगायत क्षेत्रमा संक्रमण फैलिन थालेको विभागले जनाएको छ।

संक्रमित कागकै माध्यमबाट अन्य पन्छीहरूमा संक्रमण सरेको निष्कर्ष विभागले निकालेको छ। हाल ललितपुरको गोदावरी, भक्तपुरको चाँगुनारायण र सूर्यविनायक तथा सदर चिडियाखानामा समेत संक्रमित काग भेटिएकाले वन्यजन्तु तथा जंगली चराचुरुङ्गीमा पनि संक्रमण फैलिएको संकेत देखिएको छ।

सदर चिडियाखानामा रहेका रैथाने चराचुरुङ्गी तथा अन्य जनावरमा ‘एच-नाइन’ प्रकारको एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसले स्वरूप परिवर्तन (म्युटेसन) गरेको हो कि भन्ने आशंकामा जीनोमिक सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ।

यसका लागि बर्ड फ्लु समन्वय समिति, जनस्वास्थ्य क्षेत्र, वातावरणविद् तथा सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक छलफल भइरहेको विभागले जनाएको छ।

बर्ड फ्लु अत्यन्त संक्रामक तथा घातक भाइरस भएकाले संक्रमण फैलिन नदिन ‘स्टाम्पिङ आउट’ विधि अन्तर्गत संक्रमित क्षेत्रका पन्छी तथा संक्रमणका सम्भावित स्रोतहरू नष्ट गर्ने कार्य भइरहेको छ।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म करिब ६ लाखभन्दा बढी कुखुरा, ५५ लाखभन्दा बढी अण्डा तथा झण्डै दुई लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट किसानहरूलाई ६० करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति पुगेको विभागले जनाएको छ।

संक्रमित फार्महरूमा कम्तीमा ४२ दिनसम्म नयाँ चल्ला राख्न नपाइने व्यवस्था भएकाले उत्पादन बन्द हुँदा तथा फार्म खाली राख्नुपर्दा अर्बौँ रुपैयाँ बराबरको अप्रत्यक्ष क्षति समेत पुगेको अनुमान गरिएको छ।

सरकारले ‘बर्ड फ्लु रोग नियन्त्रण नियमावली–२०७८’ अनुसार प्रभावित किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

जिल्लास्तरमा गठन हुने दररेट निर्धारण समितिले तय गरेको लागत मूल्य तथा नष्ट गरिएका सामग्रीको प्रमाणका आधारमा किसानको बैंक खातामै सिधै क्षतिपूर्ति रकम पठाइनेछ। हाल प्रभावित किसानहरूको विवरण संकलन गर्ने कार्य भइरहेको विभागले जनाएको छ।

महानिर्देशक डा. दाहालले किसानहरूलाई आफ्नो फार्ममा कुनै पनि शंकास्पद संक्रमण देखिएमा तत्काल सरकारी निकायमा जानकारी गराउन आग्रह गरेका छन्। उनले रानीखेत, गम्बोरो तथा ई–कोलाईजस्ता अन्य रोगविरुद्धका खोप तथा उपचार बजारमा उपलब्ध भएकाले जैविक सुरक्षा (बायो–सेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने बताए।

विभागले पशुपन्छी बीमा गर्न समेत किसानहरूलाई सुझाव दिएको छ। उक्त बीमामा सरकारले प्रिमियमको ८० प्रतिशत अनुदान दिने र किसानले २० प्रतिशत मात्र व्यहोर्नुपर्ने व्यवस्था छ।

उपभोक्ताहरूका लागि हाल बजारमा उपलब्ध मासु तथा अण्डा सुरक्षित रहेको विभागको भनाइ छ। बर्ड फ्लुको भाइरस तापक्रमप्रति संवेदनशील हुने भएकाले मासु तथा अण्डा राम्रोसँग पकाएर सेवन गरेमा संक्रमणको जोखिम नहुने विज्ञहरूले बताएका छन्।

Back to top