×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियामा उठेका प्रश्नबीच समस्या भोटिङ मेसिनमा नभई उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलासा भएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न वर्णानुक्रमअनुसार रहेको, न उम्मेदवारी दर्ताको क्रममा मिलेको भन्दै असन्तुष्टि जनाइरहेका छन्। साथै विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई अलग-अलग सूचीमा राख्नुपर्नेमा ६४ जनालाई एउटै सूचीमा समावेश गरिएको भन्दै पनि प्रश्न उठाइएको छ।

तर रास्वपाका एक नेताले उम्मेदवारी व्यवस्थापनमै कमजोरी भएको स्वीकार गर्दै प्राविधिक टोलीलाई उपलब्ध गराइएको अन्तिम नामावलीमै समस्या रहेको बताएका छन्। उनका अनुसार मधेशी खुला, मधेशी महिला, थारु, थारु महिला लगायत विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका व्यक्तिहरूको विवरण अन्तिम सूची तयार गर्दा छुट्याइएको थिएन।

‘६४ जनालाई खुला सूचीमै राखेर प्राविधिक टोलीलाई उपलब्ध गराइयो। उम्मेदवार कुन क्लस्टरमा थिए भन्ने विषय प्राविधिकको सरोकारको विषय थिएन,’ ती नेताले बताए। ‘पार्टीले उपलब्ध गराएको सूचीअनुसार नै भोटिङ प्रणालीमा विवरण प्रविष्ट गरिएको हो।’

यसका कारण उम्मेदवारी दर्ताका क्रममा प्राप्त भएको क्रमसंख्या र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या फरक परेपछि प्रतिनिधि तथा उम्मेदवारहरूबीच अन्योल र असन्तुष्टि बढेको बताइएको छ।

पार्टी स्रोतका अनुसार उम्मेदवारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट वितरण तथा संकलन गरिएकाले पनि समस्या उत्पन्न भएको हो। यसले एउटै सिरियल नम्बर पटक–पटक दोहोरिने अवस्था सिर्जना गरेको र पछि सूची एकीकृत गर्दा सुरुआती क्रममा रहेका उम्मेदवारहरू पछाडि धकेलिएको दाबी गरिएको छ।

एक नेताले यसलाई अनुभवको कमी तथा निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणामका रूपमा व्याख्या गरेका छन्।

रास्वपाले नयाँ कार्यसमिति चयनका लागि ‘राम–लक्षमण’ भोटिङ मेसिन प्रयोग गरिरहेको छ। उक्त मेसिन यसअघि नेकपा एमालेको महाधिवेशनसहित विभिन्न राजनीतिक दल तथा संस्थाहरूको निर्वाचनमा पनि प्रयोग हुँदै आएको छ।

यद्यपि महाधिवेशनमा देखिएको विवादबारे भोटिङ मेसिन सञ्चालन गर्ने प्राविधिक पक्षको आधिकारिक धारणा सार्वजनिक भएको छैन। यस विषयमा प्रतिक्रिया माग्दा प्राविधिक रामप्रसाद रिमालले पछि कुरा गर्ने बताएका छन्।

मतदान प्रक्रिया, उम्मेदवार सूचीकरण तथा क्लस्टर व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नबारे रास्वपाको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

Back to top