वीरगञ्ज । मनसुन सक्रिय भएसँगै देशभर निम्तिन सक्ने प्राकृतिक विपद्को सामना गर्न सशस्त्र प्रहरी बलले उच्च सतर्कता अपनाएको छ । सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनामा तत्कालै उद्धार र राहत कार्यमा खटिने गरी सशस्त्र प्रहरी बलले विशेष कार्ययोजनासहित ८ हजार १८० सुरक्षाकर्मीलाई २४ सै घण्टा ‘‘स्टान्डबाई’ अवस्थामा राखेको छ ।
विपद् व्यवस्थापनका लागि ‘सशस्त्र प्रहरी बल परिचालन, पूर्वतयारी र प्रतिकार्य योजना(२०८३’ सार्वजनिक गर्दै बलले आफ्नो तयारीलाई थप चुस्त बनाएको हो । हालसम्म देशभरका २१ हजार ६९९ सुरक्षाकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम प्रदान गरिसकिएको र बाँकी सुरक्षाकर्मीलाई असार मसान्तभित्रै तालिम सम्पन्न गर्ने गरी कार्ययोजना अगाडि बढाइएको छ ।
उद्धार कार्यमा समन्वयलाई प्रभावकारी बनाउन प्रत्येक कार्यालयमा ‘डिजास्टर फोकल पर्सन’ तोकिएको छ भने आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूमा ९५ जना सञ्चार तालिमप्राप्त दक्ष जनशक्ति खटाइएको छ ।
विपद्का घटनामा समयमै घटनास्थल पुग्न कठिन हुने क्षेत्रलाई लक्षित गर्दै सशस्त्र प्रहरीले भौगोलिक संवेदनशीलताका आधारमा ५४ स्थानमा अस्थायी मनसुन बेस स्थापना गरेको छ । यसका अतिरिक्त, उच्च जोखिमयुक्त १६ स्थानमा आवश्यक स्रोतसाधन र जनशक्तिसहित विशेष ‘विपद् व्यवस्थापन बेस’ स्थापना गरी परिचालन गरिएको छ ।
विपद्को पूर्वसूचना, तत्काल उद्धार र राहत वितरणमा कुनै कसर बाँकी नराख्ने गरी सशस्त्र प्रहरी बलले देशभरको सञ्जाललाई पूर्ण तयारी अवस्थामा राखेको हो ।