वीरगन्ज १३ माघ । बाराको पसाह खोला नजिकै भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ। टाउकोमा गम्भीर चोट लागेर सिकिस्त भएका भट्टलाई हेलिकोप्टरबाट बिहान साढे ११ बजेतिर काठमाडौंको ग्राण्डी अस्तालमा लगिएको हो। घाइते भट्टराईको वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि मेडिकल टिम सहित उनलाई काठमाडौं लगिएको हो। उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले काठमाडौं रिपर गरिएको वीरगन्ज हेल्थ केयरका संचालक डाक्टर अबुल कयशले बताए। त्यसअघि वीरगन्ज हेल्थकेयरमा न्युरो विशेषज्ञ डाक्टर फिरोज अफजलले प्रमुख जिल्ला अधिकारी भट्टराईको टाउकाको शल्यक्रिया गरेका थिए। उनीसँगै दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल बाराको १२ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखेरलेको भने शनिबार राति नै मृत्यु भएको हो।कर्मचारी मिलन केन्द्र बाराले निजगढको हिरालाल भ्यु टावरमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागीभई सर्लाहीको हरिवनमा आफन्तको विवाह भोजमा सहभागी भएर फर्किने क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईसहित सुरक्षा अधिकारी चढेको गाडी दुर्घटनामा परेको थियो।