जनकपुर, १४ फागुन । नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन हुनुभएको छ । आज जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
प्रदेश नम्बर २ का भौतिक योजना तथा यातायात विकासमन्त्री जितेन्द्र सोनल, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको घोषणासभामा सर्राफ सर्वसम्मत चयन भएको जानकारी दिइएको हो । यस यात्रा डेलीका प्रबन्ध निर्देशकसमेत रहनुभएका सर्राफले यसअघि फोटो पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।
संयोजकमा चयन भएपछि संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागिपर्ने बताउनुभयो । फोटो पत्रकाहरुको पेशगत चुनौती समाधान र प्रवद्र्धनका लागि सरोकारका निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
सहसंयोजकमा फोटो पत्रकार पंकज श्रेष्ठ चयन हुनुभएको छ । सचिवमा फणि महत, सहसचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन हुनुभएको छ । पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मन्त्री सोनलले कार्यकाल सफलताको कामना गर्नुभयो । यात्रा डेली परिवार संयोजक सर्राफसहित सम्पूर्ण कार्य समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।