×

वीरगञ्ज  । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ।

क्लबका निवर्तमान अध्यक्ष लायन नरोतम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका निर्वाचित जिल्ला गभर्नर एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का ब हुजिल्ला संयोजक पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, जिल्ला कार्यकारी प्रमुख एमजेएफ लायन बासु तिमल्सिना, जोन अध्यक्ष लायन डा. लक्ष्मी थापा, लायन श्याम गुप्ता, लायन तासी म्यामललगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन नरोतम पाण्डेले अध्यक्ष–निर्वाचित लायन दिगम्बर थापालाई क्लबको बैठक अभिलेख पुस्तिका, आधिकारिक अभिलेख तथा आवश्यक कागजात हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिनुभएको थियो। यससँगै लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।

नवनिर्वाचित अध्यक्ष लायन दिगम्बर थापाले आगामी कार्यकालका लागि क्लबको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समुदायसँग सहकार्य गर्दै सेवा गतिविधिलाई थप विस्तार गरिने बताउनुभयो।

कार्यक्रममा जोन अध्यक्ष लायन डा. लक्ष्मी थापा, जिल्ला कार्यकारी प्रमुख एमजेएफ लायन बासु तिमल्सिना, बहुजिल्ला संयोजक पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि निर्वाचित जिल्ला गभर्नर एमजेएफ लायन राम बिहारी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिनुका साथै क्लबले समाज सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा अध्यक्ष–निर्वाचित लायन दिगम्बर थापाले निवर्तमान अध्यक्ष लायन नरोतम पाण्डेलाई सफल कार्यकालको सम्मानस्वरूप **प्रेमको प्रतीकस्वरूप सम्मान–चिन्ह** प्रदान गर्दै उहाँले क्लबको नेतृत्वमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापनमा निवर्तमान अध्यक्ष लायन नरोतम पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण लायन सदस्य, अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी नेतृत्वले क्लबलाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन लायन सन्दीप गुप्ताले गर्नुभएको थियो। पद हस्तान्तरणसँगै लायन्स क्लब अफ वीरगञ्ज परिवारले नयाँ नेतृत्व, नयाँ ऊर्जा र सामाजिक सेवाप्रतिको थप सुदृढ प्रतिबद्धतासहित आगामी कार्यकाल प्रारम्भ गरेको विश्वास व्यक्त गरिएको छ।

Back to top