वीरगन्ज २७ चैत । भ्रष्टाचार गरि फरार सिमरा मालपोतका तत्कालिन कार्यालय प्रमुख मदन गुप्ताले व्यापक अनियमितता गरेको प्रमाण भेटिएको छ ।
एकै व्यक्तिको सेटिङमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको र मालपोत कार्यालय सिमरामा किर्ते कागजात बनाई जग्गा किनबेच भईरहेकोबारे व्यापक गुनासो आएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली नै बारा र पर्सामा खटिएको थियो । अख्तियारको टोलीले फागुन ३० गते सिमरा र लगत्तै बारास्थित वीरगञ्ज मालपोत कार्यालयमा छापा मारि सम्पूर्ण कागजात जफत गरेको थियो ।
नेपालपानालाई प्राप्त प्रमाणअनुसार गुप्ताले एउटै संकेत नम्बर राखी सेवाग्राहीलाई फरक–फरक मालपोत रसिद दिएका छन् । मालपोत कार्यालय पर्सा, वीरगंजमा रहँदा निजले जग्गा राजीनामा र बकसपत्र गरिएका छुट्टाछुट्टै रसिदमा एउटै संकेत नम्बर राखी राज्यले प्राप्त गर्नुपर्ने राजस्व कुम्ल्याएका हुन् ।
फरक सेवाग्राहीलाई दिइएको एउटै नम्बरको बील ।
रौतहट स्थायी घर भएका गुप्ताले करिब ८ बर्ष वीरगञ्ज मालपोतमा काम गरेका थिए । त्यसपछि सिमरा मालपोतमा पुगेका गुप्ता अख्तियारले छापा हान्ने सूचना पाएपछि फागुन २८ गतेदेखि नै फरार छन् ।
मालपोतकै कर्मचारीको मिलेमतोमा किर्ते कागजात बनाई मिलेमतो गरिएपछि जिल्ला प्रशासन कार्यालय बाराले नै अख्तियार गुहारेको थियो । जिल्ला प्रशासनले फागुन २२ गते आयोगको हेटौंडा कार्यालयलाई पत्र लेखेपछि केन्द्रिय टोली नै बारा र पर्सामा खटिएको थियो ।
अख्तियार स्रोतका अनुसार गुप्ताले भूमाफियासँग मिली भ्रष्टाचार गर्न किर्ते नागरिकता नै बनाउने गरेको खुलेको छ । उपसचिवको दरबन्दी रहने सिमरा मालपोतमा नायब सुब्बा पदका गुप्ताले राजनीतिक पहुँचका आधारमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
अर्बको भ्रष्टाचार, जताततै सम्पति
मालपोतमा काम गर्ने नायब सुब्बासरहको कर्मचारी रहेका गुप्ताले १ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पति जोडेको स्रोत बताउँछ ।
स्रोतका अनुसार गुप्ताले छोरी र ज्वाईको नाममा करोडौं अकुत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु रहेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएको प्रमाण भेटिएको छ ।
गुप्ता दम्पती ।
नायब सुब्बाको जागिरे गुप्ताले करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको गाडी चढ्ने गरेका थिए । भू माफियाहरुको समूह बनाई विभिन्न जग्गा खरिद र किर्ते गरेका निज गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा विरगञ्ज महानगरपालिका–१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।
निज जगत नारायणसहित मुकेश प्रसाद नाम गरेका र श्याम तिमल्सिनाले भ्रष्टाचार गरि गुप्ताले आर्जन गरेको अकुत धन बजारमा लगानी गर्ने गरेको प्रमाण समेत भेटिएको छ । मुकेश प्रसादले नै मदनको रकम लगानीका लागि सेटिङ मिलाउने गरेका थिए ।
कहाँ छन् गुप्ता ?
अख्तियारले छापा मार्नुभन्दा २ दिन अघि फागुन २८ गतेदेखि नै मदन गुप्ता फरार छन् ।
भारतको बिहारस्थित सितामढीमा रहेको ससुरालीमै लुकेर बसेको स्रोतले दाबी गरेको छ । गुप्तासँगै निजका सहयोगीहरु समेत अहिले फरार छन् ।
गुप्ताको कारोबार हेर्ने नजिकका सदस्यहरु पनि निजसँगै सीतामढी र भारतका विभिन्न स्थानमा रहेको बुझिएको छ ।
किन बोल्दैन अख्तियार ?
सिमरा र बारा मालपोतमा फागुन अन्तिम साता नै छापा हानेको अख्तियारले अहिलेसम्म निकै ठूलो आकारमा गरिएको यो भ्रष्टाचार प्रकरणबारे अहिलेसम्म मौनता साँधेको छ । अख्तियार स्रोतका अनुसार अहिले यो भ्रष्टाचारमा संलग्न ३२ जनामाथि अनुसन्धान भईरहेको छ । पछिल्लो पटक यो घोटालामा थप व्यक्तिहरुको संलग्नता समेत देखिएको छ ।