×

वीरगन्ज ५ बैसाख । गैह्र कानुनी रुपमा अकुत सम्पति आर्जन गरी फरार रहेका मालपोत कार्यालय सिमराका तत्कालिन प्रमुख मदन गुप्ताको सम्पति रोक्का गर्न सरकारले देशभरका भुमिसुधार तथा मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सोमवार देशभरका ७७ ओटै जिल्लामा रहेका भुमिसुधार तथा मालपोत कार्यलयहरुलाई गोप्य पत्र पठाएर गुप्ता र उसका आफन्तका नाममा रहेको घरजग्गा रोक्का गरी विवरण पठाउन निर्देशन दिएको हो । विभागले सो पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पठाएको छ । गुप्ता मालपोत कार्यालय सिमराका तत्कालिन प्रमुख हुन् । मालपोत कार्यालय विरगञ्जको राजस्व फाँट र सिमरा मालपोत कार्यलय प्रमुख रहदाँ भूमाफियाहरु सँगको मिलेमतोमा किर्ते कागज बनाएर गै्रहकानुनी रुपमा अर्वौ रुपयाँ आर्जन गरेका गुप्तालाई हाल अख्तियारको टोलीले सर्वाधिक खोजीको सुचिमा राखेको छ ।

आयोगले अनुसन्धानका क्रममा गुप्ताले भुमाफियाहरु सम्गको मिलेमतोमा गैह्रकानुनी रुपमा १ अर्व ५० करोड भन्दा बढि सम्पति आजर्न गरेको जनाएको छ । नायब सुब्बाको जागिरे गुप्ताले करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको गाडी चढ्दै आएका छन् । भू माफियाहरुको समूह बनाई विभिन्न जग्गा खरिद र किर्ते गरेका निज गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा विरगञ्ज महानगरपालिका–१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

त्यसैगरी स्रोतका अनुसार गुप्ताले छोरी र ज्वाईको नाममा करोडौं अकुत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु रहेको, मालपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएको प्रमाण भेटिएको छ । अनगिन्ती गैह्रकानुनी काम गरेर महिनादिन देखि फरार रहेका गुप्तालाई खोज्न आयोगले सार्वजनिक सुचनासमेत जारी गरेको छ । फरार गुप्तालाई प्रक्राउ गर्न नसकेपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यलयहरुलाई पत्र पठाएर गुप्ताको नाममा हाल कायम रहेका घरजग्गाहरु कोही कसैलाई कुनैपनि तरवले बिक्री तथा स्वामित्व हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखी सो को रोक्का राखिएको घरजग्गाको विवरण अनिवार्य रुपमा आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

गुप्ताले जग्गा दलाल र लेखापढी व्यवसायीहरुसँगको मिलेमतोेमा किर्ते कागज बनाएर ग्रैहकानुनी रुपमा जग्गा किनवेच गरेको , विरगञ्ज मालपोत कार्यालय , र मालपोत कार्यालय सिमरामा कार्यरत रहदाँ रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर छलि गरेको, संक्कल मिसिल तथा कागज प्रमाण लुकाएर नष्ट्र गरेको र जग्गा राजीनामा र बकसपत्र गरिएका छुट्टाछुट्टै रसिदमा एउटै संकेत नम्बर राखी सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरेको भेटिएको छ अनुसन्धानमा क्रममा भेटिएको छ । उपसचिवको दरबन्दी रहने सिमरा मालपोतमा नायब सुब्बा सरहका गुप्ताले राजनीतिक र प्रशासनिक पहुँचकै आधारमा यति ठुलो गैह्रकानुनी काम गर्ने आँट गरेको धेरैको आँकलन छ ।

Back to top