×

वीरगन्ज १६ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा ठेका लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही थालिएको छ । वीरगन्जको छपकैया निवासी ठेका लिएर काम नगर्ने निर्माण व्यवसायी धिरज कुमार चौरसियालाई प्रहरीले बिहीवार राती पक्राउ गरेको छ ।प्रहरी स्रोतका अनुसार चौरसियाको निर्माण कम्पनीले जेभीमा पर्सामा चारवटा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएर अलपत्र पारेकोले उनलाई प्रहरीले बिहीवार राती पक्राउ गरेको हो ।

विभिन्न निर्माण कम्पनीसँग जेभीमा ठेक्का लिएर पर्साको औराहा, सम्भौता, पटेर्वासुगौली र शंकरसरैयामा स्वास्थ्य चौकी अलपत्र पारिएको छ । पर्साको पटेर्वासुगौली स्वास्थ्य चौकीको एक करोड ४८ लाख रुपैयाँमा ठेक्का लिएका अजम्बर शिवराम कन्स्ट्रक्सन कम्पनी जेभीले ०७३ जेठ २७ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

शंकरसरैया स्वास्थ्य चौकी निर्माणको ठेक्का पनि यी दुवैले एक करोड ५४ लाख रुपैयाँमा लिएका थिए । ०७३ जेठ २७ मा यसको म्याद सकिसकेको छ । औराहा स्वास्थ्य चौकीको निर्माण ठेक्का लिएका म्याग्लुम तौदह पञ्चकन्या जेभीले ०७२ असार ३० मा सम्पन्न गर्ने सम्झौता गरेको थियो । यसैगरि शिवराम कन्स्ट्रक्सनले सम्भौता स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्ने ०७२ असार २६ मा सम्झौता गरेको थियो ।

म्याद सकिएको लामो समय बितिसक्दापनि निर्माण सम्पन्नमा चासो नलिएका ठेकेदारलाई प्रहरीले पक्राउ गरि सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सम्झौता बमोजिम काम सम्पन्न नगर्ने ठेकेदारलाई मुलुकी ऐन बमोजिम कारवाही गरिने बताए ।

Back to top