×

वीरगन्ज १० असार । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन्।

उनले भने, ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैँ ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे । पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै प्रदेशसभा सदस्यसमेत रहेका सुमनले सरकारको पछिल्लो भूमिका प्रति आफूहरु चिन्तित रहेको सुनाए ।

पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए । उनले भने, ‘उहाँ अहिले विरामी हुनुहुन्छ। उपचार गराईरहनु भएको छ। यसरी हतियार बन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन्। उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाईएको छ ।’

फरक प्रसंगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसका लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नु पर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे। रिपोर्टस् क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ। उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन्। जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाई छ। उनले भने,‘जनताले हामीलाई एकताको लागि उत्प्रेरणा दिईरहेका छन्।’– नेपाल समयबाट

Back to top