×

नारायणी अस्पतालमा कोरोना संक्रमितको सेवा गर्दै नर्स, बिरामीका कुरुवाले विवादपछि गरेको तोडफोड

वीरगञ्ज, २९ बैशाख । बुधवार अन्तराष्ट्रिय नर्स दिवस । स्वास्थ्य संस्था तथा अस्पतालहरुका बेथिती समस्या लगायतका बारेमा धेरैले बोल्छन्, लेख्छन् । तर तिनै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कार्यरत नर्सहरुको अवस्था कस्तो छ र कसरी काम गरीरहेका छन् भन्ने बारे भने त्यति धेरै कलम चलाएको र आवाज उठाएको देखिएन ।

फलस्वरुप नर्सहरुको अवस्था नियाल्ने अभिप्रायले वीरगञ्जस्थित नारायणी अस्पतालको स्थलगत अवलोकनका लागि यात्रा तय भयो । सञ्चारकर्मी भन्दा पनि एउटा सामान्य सर्वसाधारणको हैसियतले अस्पतालमा प्रवेश गरियो । त्याँहाको दृश्यलाई आँखाले देखेजस्तै शब्दमार्फत चित्रण गर्न नसकेपनि परिवेशको वृतान्त बुझाउने मेरो प्रयत्न रहनेछ ।

पहिलो चरणमा फैलिएको कोरोना संक्रमणको बेला अहिलेजस्तो भयावह अवस्था थिएन । अहिले नयाँ भेरियन्टसहितको संक्रमणमा सबैको अवस्था एकदम नाजुक छ । भेन्टिलेटरमा रहेका र अक्सिजन लगाइएका बिरामीहरुको उपचार गर्न ३ जना नर्सलाई भ्याई नभ्याई थियो । ‘सिस्टर यहाँ अक्सिजन सक्कियो, मेरो अक्सिजन चेक गर्नु न सिस्टर, उसलाई मात्र किन हेरेको यहाँ आउनु न नर्स अप्ठ्यारो भयो ।’ यस्तै यस्तै आवाजहरुको गुन्जायमान थियो त्याहाँ ।

जम्मा ३ जना नर्सले ४४ जना संक्रमितको उपचारमा कहाँ कहाँ भ्याउनु ? अँझ कतिसम्म भने बिरामीको हेरचाह गर्ने, औषधी खुवाउने, स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गर्ने नर्सहरुले आफै अक्सिजन बाकेर ल्याउँदै जडान गरेको दृश्य नियाल्न पाउँदा मेरा आँखा पवित्र भएको महसुस गरे । वास्तवमै नर्स तथा डाक्टरलाई भगवानसँग दाँज्नुको यथाथर्ता त्यही बेला बुझे । ‘हे मनवा मानव व्यर्थैमा मन्दिर, मस्जिद, चर्च, गुम्बामा गएर ढोग्नुभन्दा अस्पतालमा गएर नर्स तथा डाक्टरलाई पुजा गर’ भनेर अब बाँच्दिन भनेर हरेस खाएका तर चिकित्सकको उपचार पछि पुर्नजन्म पाएका एक बिरामीले भनेको सम्झना आयो ।

तर बिडम्बना ! ज्यान बाँच्ने आश बोकेर अस्पताल आएका बिरामीको मृत्यु होस् भनेर कोही पनि डाक्टर तथा नर्स मात्रै हैन कुनै पनि स्वास्थ्यकर्मीले चाँहदैन । तर पनि कुनै कुनै अवस्थामा जतिसुकै बचाउने प्रयास गरेपनि अन्ततः प्रयास विफल हुन्छ । त्यसमा स्वास्थ्यकर्मीको के दोष ?

भर्खरै पढाई सकेर अस्थाई रुपमा बिरामीको सेवा गरीरहेका नर्सहरुलाई बिरामीकै कुरुवाबाट दुव्र्यवहार भएपछि उनिहरुको मनोवल गिरेको नर्सहरुको मलिलो अनुहारले देखाइरहेको थियो । बिरामीका कुरुवाहरु आक्रोशमा आएर तोडफोड गरेर हातपात नै गर्न खोजेपछि अस्पतालकै नर्सहरु बस्ने कोठामा पसी ढोका लगाएर आँखाबाट आँसुको भेल बगाउनुको बिकल्प थिएन उनिहरुसँग ।

पिपिई लगाएर काम गर्दैगर्दा पनि नर्सहरुमाथी गरेको दुर्व्यवहार आफुभन्दा माथीको नर्सलाई फोन गरेर रुँदै सुनाएको आवाज मेरा कानले पनि सुने । तर त्यो सुनिरहनुको बिकल्प मसँग पनि थिएन । उनलाई नाम सोध्ने साहस पनि गर्न सकिन मैले । फेरी उनिहरुमा पनि डर हुँदो हो सायद । ‘हेलो दिदी, हेर्नु न यहाँ धेरै गाह्रो भयो । अब काम गर्न सकिँदैन यस्तो अवस्थामा । हामीले झन घर परिवार छोडेर बिरामीको उपचार गर्ने तर उनिहरुकै आफन्त (कुरुवा)ले हामीमाथी नै विभिन्न आरोप लगाएर हातै हाल्ने ?’ यस्तै यस्तै दुखेसो सुन्न पाए । तर उताबाट के जवाफ थियो सुन्न सकिएन ।

कोही बिरामीका कुरुवाले गर्ने व्यावहार भने गज्जबको थियो । ‘सिस्टर, मैले अक्सिजन लिएर आएँ, हजुर लगाईदिनु भन्दै अँझै उनिहरुलाई सघाएको र उनिहरुको हौसला बढाएको पनि पाए । यस्ता बुझ्ने कुरुवा देख्दा भित्रभित्रै खुशी लागिरहेपनि बाहिरी ओठमा मुस्कुराउन भने मनले मानेन । मनमा जतिबेला पनि नर्सप्रति अबुझ कुरुवाले गरेको व्यावहार झलझली आइरहेको थियो ।

अन्तत : ति नर्सहरुको मनोवल उच्च राख्न काम गर्नका लागि सहज वातावरण निर्माणमा केही पहल चाल्नुपर्छ भन्ने ध्येयका साथ अस्पतालबाट निस्किए । अनि अठोट गरे अन्तराष्ट्रिय नर्स दिवसमै नर्सको व्यथा लेख्ने । सोही अठोटको परिणामस्वरुप अहिले तपाईहरुले यो लेख पढीरहनुभएको छ ।

कम जनशक्तिले पनि धेरै सेवा प्रवाह गरीरहेको हुँदा अहिलेको विषम परिस्थितीमा निडर भइ काम गर्नुपर्नेमा नर्सिङ् कोभिड कोर्डिनेटर हेमा थापाले जोड दिइन् । नर्सिंङ संघ पर्साकी निमित्त अध्यक्षसमेत  रहेकी थापाले महामारीमा अग्रपंक्तिमा काम गरेकोमा गर्वान्वित महसुस गर्दै डराउने भए नर्सींग काम छोडेर अरु कुनै पेशा अंगाल्न पनि उनले सुझाव दिईन् । हाल नारायणी अस्पतालमा ५० बेड आइसियु,  र २६ बेडको क्रिटिकल वार्डमा ३÷३ जना नर्सहरुले काम गरीरहेका छन् । त्यसैगरी ४२ बेडको एचडियु वार्डमा २ जनाले काम गरीरहेको थापाले बताईन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले अस्पतालमा जनशक्तिको अभाव भएको स्विकार गर्दै भने, ‘अहिले नर्सको अभाव छ, अर्काे हप्तादेखि डाक्टरको पनि अभाव हुन्छ ।’  
 

Back to top