वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेशसभा खारेजसम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
आजपाका प्रवक्ता तिलक थापामगरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदेशसभा खारेज गर्ने निर्णय पारित गरेकोप्रति गम्भीर आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा नेपालको विविधतायुक्त सामाजिक संरचना, ऐतिहासिक संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको छ। आजपाले संघीयता कार्यान्वयनको क्रममा संरचनागत सुधार र सुदृढीकरण आवश्यक रहे पनि प्रदेशसभा नै खारेज गर्ने निर्णय लोकतान्त्रिक मूल्य र जनभावनाविपरीत रहेको जनाएको छ।
“संघीयता कार्यान्वयनको सवालमा यसका संरचनालाई बलियो बनाउनुको सट्टा स्वेच्छाचारी ढंगले प्रदेशसभा खारेज गर्ने प्रतिवेदन पारित गर्नु स्वयं रास्वपाकै लागि पनि प्रत्युत्पादक साबित हुनेछ। रास्वपाले यो निर्णय पुनरावलोकन गरी तत्काल फिर्ता लिनुपर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
आजपाले २१ फागुन २०८२ को निर्वाचनका क्रममा रास्वपाले संघीयता सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेर जनमत प्राप्त गरेको स्मरण गराउँदै अहिले प्रदेशसभा खारेजको निर्णय गर्नु जनादेशको अपमान भएको दाबी गरेको छ।
विज्ञप्तिमा चुनावका बेला एक प्रकारको प्रतिबद्धता जनाएर मत माग्ने र निर्वाचनपछि त्यसको विपरीत निर्णय गर्नु लोकतान्त्रिक मूल्य, जनविश्वास र राजनीतिक नैतिकताविरुद्धको कार्य भएको उल्लेख गरिएको छ।
आजपाले प्रदेशसभा खारेजीको प्रस्तावले राष्ट्रिय राजनीतिमा अनावश्यक विवाद र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी समेत दिएको छ। पार्टीका अनुसार रास्वपाले निर्वाचनका क्रममा विभिन्न समुदाय र क्षेत्रको भावना सम्बोधन गर्दै समर्थन जुटाएको भए पनि अहिलेको निर्णयले ती प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
विज्ञप्तिमा रास्वपाका पछिल्ला गतिविधि र निर्णयहरूले देशलाई निकास दिनेभन्दा थप असहज अवस्था सिर्जना गर्ने संकेत देखिएको टिप्पणी गरिएको छ। साथै ‘राइट टु रिकोल’ जस्ता उत्तरदायित्वमुखी अवधारणाको पक्षमा उभिएको दलले जनादेशविपरीत निर्णय गर्नु गम्भीर नैतिक प्रश्न भएको आजपाको भनाइ छ।
आजपाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म, संविधानको भावना तथा जनताको अपेक्षालाई सम्मान गर्दै प्रदेशसभा खारेजीसम्बन्धी निर्णय फिर्ता लिन रास्वपालाई पुनः आग्रह गरेको छ।