×

वीरगञ्ज । उद्योग वाणिज्य संघको आयोजना तथा युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (क्वालिटी) परियोजनाअन्तर्गत मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा एकदिने रोजगार मेला सुरु भएको छ।

संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा आयोजित रोजगार मेलामा ११ वटा स्टल राखिएका छन्। मेलामा आठ वटा प्राविधिक शिक्षालयका करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

रोजगार मेलाको मुख्य उद्देश्य उद्योगी तथा प्राविधिक शिक्षालयबीच प्रत्यक्ष अन्तरक्रिया गराई उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति छनोट गर्ने तथा युवाहरूलाई रोजगारीको अवसर उपलब्ध गराउनु रहेको छ।

आयोजकका अनुसार मेलामा सहभागी उद्योगीहरूले १०० जना विद्यार्थीमध्ये करिब १० देखि १५ जनालाई रोजगारीको सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले प्राविधिक शिक्षा हासिल गरेका युवाहरूलाई रोजगारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

मेलामा सहभागी विभिन्न उद्योग तथा कम्पनीका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफूले हासिल गरेका सीप, ज्ञान र दक्षतालाई व्यवहारिक रूपमा प्रयोग गर्न उद्योग क्षेत्र उपयुक्त माध्यम बन्न सक्ने बताएका थिए। साथै, प्राविधिक जनशक्तिको बढ्दो आवश्यकता र रोजगारीका सम्भावनाबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा उद्योग वाणिज्य संघका शिवजी गुप्ता, क्वालिटी परियोजना मधेश प्रदेशका व्यवस्थापक छविनकुमार मगर, एलडीआईका निर्देशक अनिलकुमार जयसवाल तथा विभिन्न उद्योग तथा कम्पनीका व्यवस्थापकहरूको उपस्थिति रहेको जानकारी मित्रदेव यादवले दिएका छन्।

कार्यक्रमको अन्त्यमा उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले सहभागी सम्पूर्ण अतिथि, उद्योगी, विद्यार्थी तथा सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए।

आयोजकले रोजगार मेलाले उद्योग र प्राविधिक शिक्षाबीचको दूरी कम गर्दै दक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने प्रभावकारी मञ्चको रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ।

Back to top