वीरगञ्ज । वीरगञ्ज तेक्वान्दो डोजाङका खेलाडी अफताब आलम मधेश प्रदेश तेक्वान्दो संघबाट सम्मानित भएका छन्। तेक्वान्दो खेलको विकास, प्रवर्द्धन तथा विभिन्न प्रतियोगितामार्फत पुर्याएको योगदानको कदर गर्दै संघले उनलाई सम्मान–पत्र प्रदान गरेको हो।
मधेश प्रदेश तेक्वान्दो संघले आलमले तेक्वान्दो खेलमा देखाएको निरन्तर मेहनत, अनुशासन र समर्पणले वीरगञ्जसहित समग्र मधेश प्रदेशको खेल क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै सम्मान प्रदान गरेको जनाएको छ।
आलमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै तेक्वान्दो खेलको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको संघको भनाइ छ। खेलप्रतिको लगाव, निरन्तर अभ्यास र उत्कृष्ट प्रदर्शनका कारण उनी युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको बताइएको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अफताब आलमले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको बताए। उनले आगामी दिनमा अझ बढी मेहनतका साथ खेल क्षेत्रमा सक्रिय रहँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्ज तेक्वान्दो डोजाङका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूले आलमलाई सम्मान प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै उनको आगामी खेल जीवन सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
खेलकुदमार्फत वीरगञ्ज, मधेश प्रदेश तथा नेपालको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझ उज्ज्वल बनाउने अपेक्षासहित आलमको निरन्तर सफलताको कामना गरिएको छ।