वीरगञ्ज ५ जेठ । कोरोनाका बिरामीको उपचारमा अहिले पनि धेरैले रेमडेसिभिर औषधी र प्लाज्मा थेरापी विधि अपनाईरहेका छन् ।
तर अनुसन्धान र चिकित्सकको अनुभवले यी दुबै उपचार विधिले कोभिडका गम्भिर बिरामीलाई बचाउन नसकिने देखाएको छ । केही मात्रामा भने सकारात्मक प्रभाव परेको देखिन्छ । त्यसैले कोरोनाको उपचारकालागि रेमडेसिभिर र प्लाज्मा थेरापीमा पुरै भर नपर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
कोरोना संक्रमणको उपचारमा विकल्प नहुँदा विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि प्लाज्मा थेरापी विधि अपनाइयो । एकपटक कोरोना भैसकेको व्यक्तिको रक्तकोष छुट्याएर त्यसमा भएको प्लाज्मा संक्रमितलाई दिने विधिबाट अहिले पनि उपचार भैरहेको छ ।
संक्रमितको शरिरले रोग प्रतिरोगात्मक क्षमता विकास गर्न नसक्ने भएकोले एन्टीबडीले भाइरससँग लड्न मद्धत गर्ने विश्वास गरिन्छ । तर यो विधि सबै बिरामीका लागि प्रभावकारी भने भएन ।
अर्को विधि हो, रेमडेसिभिर औषधीबाट बिरामीको उपचार । एण्टी भाइरल औषधी भएकोले कोरोनाका बिरामीको उपचारमा अत्यधिक प्रयोग हुँदा यसको कालोबजारी समेत भैरहेको छ । तर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ६ महिनासम्म गरेको अनुसन्धानबाट समेत प्लाज्मा थेरापी र रेमडेसिभिर उपचार विधि गम्भिर प्रकृतिका बिरामीको उपचारमा प्रभावकारी हुन नसकेको प्रमाणित भएको छ ।
धेरै प्रतिरोगात्मक क्षमता भएको प्लाज्मा ल्याएर रोग प्रतिरोगात्मक क्षमता कम भएकालाई दिँदा भने त्यसले काम गर्ने अनुसन्धानले देखाएको छ । आइसियू र भेन्टीलेटरमा राखिएका बिरामी मध्ये केहीलाई निको भएपनि प्लाज्मा थेरापी र रेमडेसिभिरले पूर्णरुपमा कोभिड निको नहुने चिकित्सकको अनुभव छ ।
उपचारमा प्रभाव कमजोर देखिएपछि भारतसहित विश्वका कतिपय मुलुकले प्लाज्मा विधिमा रोक लगाईसकेका छन् । नेपाल मेडिकल काउन्सिलले समेत सबै बिरामीमा यो उपचार विधि नअपनाउन निर्देशन दिएको छ ।
यस्तै स्टोरोइड र रेमडेसिभिर जस्ता औषधीको प्रभावकारिता राम्रै देखिए पनि परामर्श बिना प्रयोग गर्नु हानिकारक हुने चिकित्सको सुझाव छ ।