वीरगञ्ज ६ जेठ । हिन्दू धर्मावलम्बीहरूको जन विश्वास अनुसार चैत्र शुक्ल पक्षको नवमी तिथिमा तेत्रा युगमा भगवान् रामको जन्म भएको थियो । त्यसैको एक महिनापछिको तिथि अर्थात् वैशाख शुक्ल पक्षको नवमी तिथिमा माता सीताको जन्म भयो ।
जस्तै चैत्र शुक्ल पक्षको नवमीलाई राम नवमी कहिन्छ त्यस्तै वैशाख शुक्ल पक्षको नवमीलाई सीता नवमी भनिन्छ । यसरी सीता नवमीलाई भगवान रामको अर्धाङ्गिनी सीताको जन्म उत्सवको रूपमा मनाइने गरिन्छ । त्यसैकारण यस तिथि सीता जयन्तीको नामले पनि परिचित छ ।
सीता माताको विवाह रामसँग त्रेतायुगमा भएको हो । मिथिला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरू छन् ।
नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य कथन अनि किंवदन्तीहरू पाइन्छ ।
सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी मानिन्छ । सीता पुनः अग्निपरीक्षापछि धर्तीमै समाहित भएको कथाहरू अझै पनि घर–घरमा सुनिन्छ । रावण अपहरणमा परेसँगै सीताको सतीत्व र पवित्रमाथि प्रश्न उठेपछि सतीत्व प्रमाणित गर्न सीता अग्निपरीक्षामा उत्रिएको किंवदन्ती घर–घरमा सुन्न पाइन्छ ।
सीताको जन्म अर्थात् त्रेतायुगअघि नै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ । धर्तीबाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनपर्छ ।
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । रामनामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, वलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनबास अनि कठोर बसाँई हुँदै लंकामा रावणको अपहरणमा परी अधिन बस्न वाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।
लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् ।
सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौं । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर–घरमा अझै सुनिन्छन् । सुनाइन्छन् । सीता एउटा भक्ति हो । शक्ति हो अनि एउटा उदाहरण हो । नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको । रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण–कणमा छिन् । रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममता–सयलमा विश्व सदैव रंगिइरहनेछ ।
माता सीता पतिव्रता स्त्री थिइन् । जव उनको चरित्रमा प्रश्न चिह्न लाग्यो, उहाँले आफुलाई प्रमाणित गर्न स्वम अग्नि परीक्षा पनि दिएकी थिइन् । यसर्थ सीता नवमी महिलाहरुको लागि विशेष गौरवको दिन हो । सीता नवमीको दिन विवाहित महिला आफ्नो श्रीमानको लामो आयुको निम्ति व्रत समेत बस्ने र सीता माताको पूजा गर्ने चलन छ । त्यस्तै अविवाहित महिलाहरुले पनि सीघ्र विवाहको योग र मार्यादित श्रीमान् प्राप्तिका लागि व्रत बस्ने संस्कार छ ।