×

२० असार । घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण ‘सामान्य’ जस्तै बनेको एक अध्ययनले देखाएको छ।

पछिल्लोपटक सार्वजनिक एक अध्ययन प्रतिवेदन अनुसार मालिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुका बिरालो वा कुकुरमा पनि सर्ने गरेको उल्लेख छ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिस बस्ने १९६ घरबाट ३१० जनावरको स्वाब संकलन गरिएको हो। ६ बिरालो र सात कुकुरको पीसीआर रिपोर्ट पोजेटिभ आयो। यस्तै ५४ जनावरमा कोरोना भाइरसविरुद्धको एन्टीबडी बनेको देखिएको थियो।

अनुसन्धानमा संलग्न डा. एल्स ब्रोएन्सले आफू संक्रमित भएमा मानिसहरुसँग जस्तै घरपालुवा जनावरसँग पनि आइसोलेट हुनु पर्ने बताएकी छन्।

भाइरसले जनावरको स्वास्थ्यमा खासै असर नगरे पनि भाइरसको आश्रय स्थलका रुपमा काम गर्ने र पछि फेरि मानिसमा संक्रमण फैलिने जोखिम रहने उल्लेख छ।

अहिलेसम्म जनावरबाट उसका मालिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको घटना छैन। मानिसबाट मानिसमा सहज रुपमा भाइरसको संक्रमण भइरहेकाले कुकुर वा बिरालोबाट सरेको छ वा छैन भन्ने थाहा पाउन पनि कठिन रहेको छ।

अधिकांश संक्रमित जनावरमा लक्षण नदेखिएको वा मध्यम खालको मात्रै लक्षण देखिएको थियो।

Back to top