वीरगञ्ज २९ साउन । आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक परिवर्तन आइसकेको संस्कृतिविद् औंल्याउछन् ।
ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र पछिल्लो समय ‘प्रिन्ट भर्सन’ आउने गरेका छन् ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यसदिन घरका मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धुप दीप विधिपुर्वक पुजा गर्ने चलन छ ।
यसक्रममा दियो कलश र गणेश थापेर पुजासमेत गरिन्थ्यो । तर, पछिल्लो समय धेरै बेफुर्सदिला हुने गरेका छन् । जसका कारण जतिसक्दो छिटो नाग टाँस्न सकाउने ध्याउन्नमा रहने गरेको पाइएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले विधिविधान र पुरानो रितीथितीअनुसार नागपूजा गर्न नै कठिन हुने गरेको बताउँछन् ।
‘विधि विधानअनुसार पुजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईका दुध, गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ,’ उनी भन्छन्, ‘कति सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ ।
नाग टाँस्दा सिक्का पनि टास्ने चलन छ ।’ आजको दिन बिहानै उठी, स्नान गरी नागचित्र वा मूर्तिमा पुजा गर्नाले नागको भय हुँदैन भन्ने जनविश्वास छ ।
गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नाग दियो, कलश, गणेशको पुजा गरी दही, दुबो, कुश, फुल, सिन्दुर, चन्दन आदिले पुजा गरी, धुप दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुने कथन छ ।
नाग जलस्रोतका संरक्षक हुन् । घर, इनार, कुवा, पोखरी, बनाउँदा नागनागिनीको प्रतिमा राखी पुजा गर्ने चलन छ । हिन्दूधर्ममा नागलाई सर्पका राजा भनिन्छ ।