वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले ६० जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप हाउस ड्रेस वितरण गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा शान्ति प्राथमिक विद्यालय, चमरीटोलमा अध्ययनरत ६० जना विद्यार्थीलाई हाउस ड्रेस हस्तान्तरण गरिएको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई नियमित विद्यालय उपस्थितिका लागि प्रोत्साहित गर्दै उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले हाउस ड्रेस वितरण गरिएको उहाँले बताउनुभयो।
उक्त हाउस ड्रेस राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहा, चितवनको सहयोग तथा सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुवर्णपुरसँगको सहकार्यमा स्थापना गरिएको ‘अक्षयकोष’बाट प्राप्त ब्याज रकममार्फत वितरण गरिएको हो। समितिका अनुसार अक्षयकोषको मूल रकम सुरक्षित राखी त्यसबाट प्राप्त हुने ब्याजलाई शिक्षा, सामाजिक विकास तथा समुदायका कल्याणकारी कार्यक्रमहरूमा खर्च गर्ने नीति अनुरूप कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रीनको सभापतित्व तथा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा जीराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, सुवर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुन लामा, शान्ति प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय यादव, ज्ञानवाटिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेवारलगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षामा गरिएको लगानी नै समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गरे। उनीहरूले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित यस्ता सहयोगले विद्यालयमा नियमित उपस्थिति बढ्नुका साथै अध्ययनप्रतिको उत्साह र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे।
समितिका सचिव जीवन श्रेष्ठले अक्षयकोष स्थापना गर्नुको उद्देश्य मूल रकम सुरक्षित राख्दै त्यसबाट प्राप्त हुने ब्याजलाई दीर्घकालीन रूपमा शिक्षा, सामाजिक सेवा तथा समुदायको हितमा उपयोग गर्नु रहेको बताउनुभयो। सोही उद्देश्यअनुसार यस वर्ष विद्यार्थीलाई हाउस ड्रेस वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
हाउस ड्रेस प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए भने अभिभावकहरूले पनि यसले विद्यालय खर्चमा केही राहत पुगेको प्रतिक्रिया दिएका छन्। विशेषगरी विपन्न परिवारका विद्यार्थीका लागि यस्तो सहयोगले विद्यालयप्रतिको आकर्षण बढाउनुका साथै अध्ययनलाई निरन्तरता दिन थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
सुनाखरी उपभोक्ता समितिले आगामी दिनमा पनि शिक्षा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीले समुदायको सक्रिय सहभागिता र साझेदारीमा सञ्चालन हुने यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।