×

वीरगञ्ज । विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्या सदन माध्यमिक विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न भएका छन्। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत आयोजित चेस प्रतियोगितामा कक्षा ५, ६ र ७ समावेश गरिएको समूह ‘ए’ मा कक्षा ७ ‘आर’का मोहम्मद शाइल अन्सारी प्रथम, कक्षा ७ ‘जि’का अरशद अन्सारी द्वितीय तथा कक्षा ६ ‘आर’का शेख सर्फराज आलम तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

त्यसैगरी, कक्षा ८, ९ र १० समावेश गरिएको समूह ‘बी’ मा कक्षा १० का आर्यन शाह प्रथम, कक्षा ८ ‘वाई’का अशफाक हुसेन अन्सारी द्वितीय तथा कक्षा ९ ‘बी’का सामीद परवेज तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। चेस प्रतियोगिताको संयोजन शिक्षकद्वय ईर्शाद अन्सारी र विक्रान्त ठाकुरले गर्नुभएको थियो।

यसै अवसरमा "स्पिड स्टार च्याम्प" अन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूबीच विभिन्न सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो। प्रतियोगितामा नर्सरी ‘वाई’की सुहानी चौधरी नर्सरी स्पिड स्टार, एल.के.जी. ‘आर’का अयुब अन्सारी एल.के.जी. स्पिड स्टार तथा यू.के.जी. ‘जि’का मनिष मण्डल यू.के.जी. स्पिड स्टार घोषित भएका छन्।

त्यसैगरी, कक्षा १ को नेपाली वाचन प्रतियोगितामा कक्षा १ ‘जि’की हर्षिका ठाकुर स्पिड स्टार घोषित भएकी छन्। उक्त कार्यक्रमको संयोजन शिक्षिकाद्वय लक्ष्मी श्रेष्ठ र निर्मला ढुंगेलले गर्नुभएको थियो।

कार्यक्रमको समापनमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनले विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूको उत्साह, अनुशासन र सक्रियताको प्रशंसा गरेको छ।

विद्यालयले आगामी भदौ १८ गते पुनः विशेष सह–पाठ्यक्रम गतिविधिहरू सञ्चालन गर्ने जानकारी दिएको छ। सो अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि राखी बनाउने प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि मेहन्दी प्रतियोगिता र खुला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ। विद्यालयले सबै विद्यार्थीलाई उत्साहपूर्वक सहभागिता जनाई आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरेको छ।

विद्यालय प्रशासनका अनुसार विद्या सदन माध्यमिक विद्यालयले यस्ता शैक्षिक, सिर्जनात्मक तथा सह–पाठ्यक्रम गतिविधिमार्फत विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण व्यक्तित्व विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।

Back to top