तामा खानु स्वास्थ्यका लागी कति लाभदायक छ ?
तपाई हाम्रो वरपर पाइने कलिलो बाँसलाई नै तामा भनिन्छ । घर वरपर वा टाढा या हामी हिँड्ने बाटोमा नै किन नहोस् हामीले बाँसको घारी देखेका छाैं । हामीलाई लाग्नसक्छ छ्या कस्तो घारी । तर त्यसको महत्त्व भने हाम्रो लागि अत्यधिक छ ।
हामीले बाँसको छ्रवाली, टहरा, डोका बनाएको देखेकै छौं । त्यो देख्दा लाग्छ यस्तो नि खान मिल्छ र ? त्यो स्वाभाविक नै हो । तर हामीले त्यो बाँस खाने भने पक्कै पनि होइन । बाँसको कलिलो मुना तामा हो । जो हाम्रो स्वास्थ्यको लागि अति नै लाभदायक रहेको छ । तामालाई विभिन्न परिकारमा पनि खान सकिन्छ ।
विशेष गरी नेपालको अधिकांश स्थानमा सर्वसुलभ सर्वत्र रूपमा बाँस अर्थात् तामा पाइन्छ । तामालाई तरकारीको रूपमा र अन्य रूपमा प्रयोग गर्न सकिन्छ । तपाई हामी मध्ये कतिले त खानामा तामाको तरकारी हुँदा कत्ति तामाको मात्र तरकारी पकाएको भनेर नखाएरै हिँड्छौँ होला। अब भने त्यस्तो नगर्नुहोला । किनकि तपाईँले यो पढी रहँदा पनि थाहा हुन्छ कि तामाको महत्त्व कति छ भनेर ।
हामीले तामा जुन मौसममा पनि खान सकिन्छ । बनाउन पनि सजिलो र भान्छामा पनि पकाउन त्यति नै सजिलो छ । गर्मी मौसममा पनि भान्छामा धेरै समय नलाग्ने त्यो फाइदा छ भने चिसो मौसममा त झन् तातो तामाको सुप सँगै खाना खानुको मज्जा नै छुट्टै हुने गर्दछ ।
यस्ता छन् बाँसको तामाको फाइदाहरू !
१. तामामा प्रोटिनको मात्रा बढी हुने भएकाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
२. तामाको प्रयोगले पाचन प्रणालीलाई फाइदा हुन्छ । जसले गर्दा पाचन समस्या हटेर जान्छ ।
३. खोकी वा फोक्सोको समस्या छ भने तामाको तरकारी खाने गर्नुहोस् फाइदाजनक हुने गर्दछ ।
४. तामामा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकाले मधुमेह रोगीका लागि फाइदाजनक हुने गर्दछ ।
५. यसले उच्च रक्तचापलाई कम गर्दछ ।
६. यसले पिसाब घरको अधिकांश समस्या निको पार्ने गर्दछ । पिसाबमा हुने सङ्क्रमणका बिरामीलाई औषधीकै काम गर्दछ ।
७. तामामा फ्याटको मात्रा निकै कम हुने भएकाले कोलेस्ट्रोललाई नियन्त्रण गर्ने गर्दछ ।
८. क्यालोरी कम हुने भएकाले शरीरको बोसो घटाउँछ ।
९. तामा गर्भवती महिलालाई स्वास्थ्यकर मानिन्छ । गर्भवतीको अन्तिम महिनामा तामाको तरकारी खुवाउने पनि गरिन्छ ।
१०. तामाको नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर देखि क्यान्सरको सम्भावनालाई समेत क म गर्छ ।
११. तामाले मुटु रोग,रक्तचाप,अत्यधिक कोलेस्ट्रोल,आन्तरिक घाउ वा चोटको समस्यालाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका रहन्छ ।
तामा तयार गर्ने विधि !
तामा तयार गर्न सहज अनि सजिलो पनि छ । बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याएर स–साना टुक्रा बनाउनु पर्दछ । त्यस पछि त्यसलाई केही बेर घाममा सुकाएर बेसार मोल्ने र सफा माटोको भाँडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राख्नुपर्दछ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लीयपन बढ्दै जान्छ । तामालाई प्लास्टिकमा बाँधेर जमिन मुनि महिनौँ सम्म गाड्ने परम्परागत चलन पनि रहेको छ । तामालाई केही समयमा बन्द भाडामा राखेर अमिलो भए पछि आवश्यकता अनुसार भाडा बाट नै झिक्दै प्रयोग गर्न सकिन्छ ।
तामाका परिकारहरू !
विश्वमा तामाका धेरै परिकारहरू बनाउने चलन छ। चिनिया खानामा त तामा अभिन्न अंग मानिन्छ ।
नेपालमा भने सीमित परिकारहरू बनाइन्छ । नेपालमा आलु, बोडी तामाको तरकारी निकै प्रचलित रहेको छ । तामाको अमिलो अचार अर्थात् तामाको मेसो पनि त्यत्तिकै लोकप्रिय रहेको छ ।
विदेशमा खानाको सुरुवाती समयमा खाइने एप्पीटाईजर सलादको रूपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार गरिन्छ । मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बाँसको टुसालाई ताजै तरकारीको रूपमा प्रयोग गर्न पनि सकिन्छ ।