अहिले बिस्तारै जाडो बढिरहेको छ । जाडोको बेला मानिस फुर्तिलो हुँदैन, जति धेरै चिसो बढ्यो उति अल्छी हुँदै जान्छ । जाडोबाट जोगिन हामीले धेरै उपाय अपनाउँछौँ । तर हामीले जानी नजानी गर्ने त्यस्ता गल्तीले हाम्रो स्वास्थ्यमा असर पर्न सक्छ ।
चिसोमा हुने सामान्य गल्तीहरू
१) पानी नपिउने
गर्मीमा जस्तो जाडोमा तिर्खा लाग्दैन । जाडो मौसममा शारीरिक गतिविधि धेरै नहुने भएकाले कम तिर्खा महसुस हुन्छ । बेलायतको डायटिक एसोसिएसनका अनुसार जाडोमा हाइड्रेड रहन हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी चाहिन्छ । जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन । डिहाइड्रेसनले किड्नी, अपच र पेट दुख्ने लगायतका समस्या आउँछन् ।
२) बढी लुगा लगाउने
जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौ । तर धेरै लुगा लगाउनु मात्र जाडोबाट बच्ने उत्तम उपाय होइन । बढी लुगाले गर्मी हुने शरीरमा पसिना आउन सक्छ । जब पसिना निस्किएर सुक्छ, शरीर झन् चिसो हुन्छ । तसर्थ जाडोमा लुगा लगाउँदा मांशपेशीलाई न्यानो पार्ने ठिक्क लुगा लगाउनुपर्छ ।
३) पञ्जा र मोजाको प्रयोग
जाडोबाट बच्न हातमा पञ्जा र खुट्टामा मोजा लगाउने गरिन्छ । तर, हरबखत पञ्जा र मोजा लगाएर बस्नु उचित हुँदैन । कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रा हात र खुट्टा सहज अंग हुन् । हात र खुट्टा ढाकेर बस्नुको अर्थ वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ । जाडोमा मोजा लगाएर कहिल्यै पनि सुत्नु हुँदैन । मुटुबाट जोर्नीहरुमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ ।
४) धेरै खाने
तौलबारे सबैभन्दा ध्यान दिनुपर्ने भनेकै जाडो मौसममा हो । जाडोबाट बच्न हामी बढी चिल्लो, प्रोटिनयुक्त र जङ्क फुड खाने गर्छौं । फेरि चिसो मौसममा खाना धेरै रुच्छ । जाडोमा हामी धेरैले काम गर्न झन्झट मान्छौँ । शारीरिक गतिविधि कम हुन्छ, तर खानपिन ज्यादा । जसले गर्दा मानिस मोटाउन सक्छ । जाडोको समयमा ताजा खानेकुरा फलफुल र सागसब्जी खानुपर्छ । मौसमी फलफूल जस्तैः सुन्ताला, अनार, बदाम आदि खानुपर्छ ।
५) बढी सुत्ने
जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ । बिहान पनि हामी धेरै बेरसम्म सुत्न मन पराउँछौँ । त्यतिमात्र होइन बिहानको खाना खाएपछि दिउँसो घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ । खानपिन ज्यादा र सुताइ पनि ज्यादा भयो भने शरीर बोधो र भद्दा हुँदै जान्छ । जाडो सकिने बित्तिकै सामान्य अवस्थामा फर्किन हामीले धेरै प्रयत्न गर्नुपर्छ ।
६) बाहिर निस्कन नचाहने
जाडो बढ्दा हामी अधिकांश समय भित्रै बस्न रुचाउँछौँ । बाहिर हिउँ परेको बेला भित्र बस्नु राम्रै कुरा हो । तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निस्क्रिय भएर भित्रै बस्न वा भट्टीतिर गएर ज्यान तताउन मन पराउँछन् जुन राम्रो आदत होइन । जाडोको मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै स्वभाविक रुपमा न्यानो हुन्छ ।
७) अनावश्यक क्रिम र लोसनको प्रयोग
जाडोमा हामीले गर्ने अर्को गल्ती भनेको थरिथरिका क्रिम र लोसनको प्रयोग गर्ने बानी हो । छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन । जथाभावी लोसन लगाउँदा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ ।