×

चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्य समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने  खाने कुरातर्फ ध्यान नदिँदा सन्तुलित भोजन हुँदैन । शरीरलाई चाहिनेभन्दा बढी मासु खाँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट हुन्छ । भात, रोटीसँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि आँखा अघाएनन् भन्दै जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा असर गर्छ । जिब्रोको स्वादका आधारमा थपीथपी मासुका धेरै परिकार तथा अन्य खानाकुरा खाँदा सर्ने, नसर्ने रोगहरु बढ्दै गइरहेका छन् ।

पर्वका बेला कहिलेकाहीँ अपवादका रुपमा धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ । पेट अटस मटस हुनेगरी मासु खाँदा झाडापखाला  लाग्ने, पेट दुख्ने समस्या निम्तन सक्छ । मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रुपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ ।

सन्तुलित भोजन हाम्रो जीवनशैली बन्नुपर्छ । पूर्वीय संस्कृतिअनुसार पेटलाई आराम दिनका लागि होला, साताको एक पटक व्रत बस्ने चलन छ । अहिले इन्टरमिडियट फास्टिङ १६ घण्टासम्म नखाने प्रचलन बढेको छ । व्रत बस्ने चलन त पूर्वीय संस्कृतिमा पहिल्यैदेखि थियो । धार्मिक मानिसहरुले दसैँभरि नै अर्थात नवरथ अवधिमा एकछाक मात्रै खाने गर्छन् । यसरी अन्य समयमा पनि व्रत बस्ने बानीले स्वास्थ्यलाई ठूलो सहयोग गर्छ ।

Back to top