×

वीरगञ्ज १० असोज । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु हुना साथ वीरगञ्जको गहवामाई मन्दिरमा दर्शनार्थीको घुईचो लागन सुरु भएको छ । 

हिन्दु धर्मावलम्वीहरुको महानपर्व बडादशैं शुरु भएको छ । घटस्थापनामादेखि नौ दिनसम्म विभिन्न शक्तिस्वरुपा देवीहरुको पूजागरि मनाईने नवरात्री आजदेखि शुरु भएको छ । सोमबार (आज) वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।

वीरगञ्ज महानगरका विभिन्न स्थानमा स्थापना गरिएका देवी दूर्गाको मन्दिरहरुबाट कलश यात्रा गरिएको छ । कलशमा जल लिएर वीरगन्जको गहवामाई मन्दिर पुगेर जल चढाई पुनः दूर्गाको मन्दिर स्थापना गरिएको स्थानमा पुगेर जलयात्रा विसर्जन गर्ने गरिएको छ ।

वीरगञ्जको लक्ष्मणवा, पिपरा, गहवा, नगवा, घण्टाघर लगायतका स्थानमा स्थापना गरिएको दूर्गा मन्दिरबाट हजारौं स्थानीय भक्तजनहरुले वीरगञ्जको मुख्य सडक र बजारमा जल यात्रा गरेका थिए ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा सेवन गर्ने गरिएको छ ।
 

Back to top