×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै मनसुनी गतिविधि तीव्र हुने संकेत गरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भागमा मनसुनी वायु सक्रिय छ भने गण्डकी प्रदेशको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ । गण्डकी र लुम्बिनीका बाँकी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेको जनाइएको छ ।

आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । प्रदेशहरूका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । देशका पहाडी र तराई भू–भागका धेरै स्थान तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा मापन गरिएको जलवायुविज्ञ धर्मराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार लुम्बिनी पश्चिमदेखि सुदूरपश्चिम क्षेत्रमा आज राति र भोलि बिहान बढी वर्षा हुने सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दो क्रममा रहेकाले वर्षा तीव्र हुने भएको हो ।

भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहेको विभागले जनाएको छ । ठूला तथा साना नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

Back to top