वीरगञ्ज । काठमाडौँको दशरथ रङ्गशाला परिसरस्थित कभर्ड हलमा असार १४ र १५ गते सम्पन्न चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा ७४ केजी तौल समूहमा मधेस प्रदेशका खेलाडी सुजित यादवले स्वर्ण पदक जितेका छन् ।
देशका सातै प्रदेश र तीन विभागीय टोलीसहित कुल १० टोलीका करिब २०० खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा कडा प्रतिस्पर्धाबिच सुजितले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गरेका उनी ७४ केजी तौल समूहका उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन् ।
यस उपलब्धिसँगै मधेस प्रदेशले राष्ट्रिय स्तरमा थप गौरव प्राप्त गरेको छ । सुजितको जितले प्रदेशको खेल क्षेत्रको सम्भावना र क्षमतालाई थप उजागर गरेको छ ।
आफ्नो सफलतापछि सुजित यादवले साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने प्रतिबद्धतासमेत जनाएका छन् ।