वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको पद हस्तान्तरण तथा नयाँ कार्यसमितिको पदस्थापन समारोह सम्पन्न भएको छ । नयाँ लायन्स वर्ष २०२६/२०२७ को पूर्वसन्ध्यामा आयोजित समारोहमा निवर्तमान कार्यसमितिले नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो ।
समारोहमा निवर्तमान अध्यक्ष सोनी अग्रवालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग, साथ र विश्वास गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एस’ का डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी बासु तिमिल्सिनाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै लायन्सको मूल मन्त्र “वी सर्भ” लाई आत्मसात् गरी समाजसेवाका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरे ।
क्लबको नयाँ कार्यसमितिको अध्यक्षमा खुश्बु अग्रवाल, प्रथम उपाध्यक्षमा रिना जयसवाल, द्वितीय उपाध्यक्षमा कविता अग्रवाल, सचिवमा रञ्जना टेकरीवाल तथा कोषाध्यक्षमा प्रीति अग्रवाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खुश्बु अग्रवालले क्लबको गरिमा, सेवा र मानवीय मूल्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भोकमरी न्यूनीकरण, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने बताइन् । उनले सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा प्रभावकारी र दिगो सेवा अभियान अघि बढाइने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ सुनिता अग्रवाल, डिस्ट्रिक्ट डेपुटी क्याबिनेट सेक्रेटरी श्याम गुप्ता, डिस्ट्रिक्ट चिफ आयुसी तुल्स्यान, क्लबकी एलसीआईएफ कोअर्डिनेटर रितिका जयसवाल, जोन चेयरपर्सन नरोत्तम पाण्डे तथा डिएभी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश मिश्रलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
उपस्थित अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स अभियानलाई अझ प्रभावकारी, सेवामुखी र समाजमुखी बनाउन नयाँ नेतृत्वले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।