×

वीरगञ्ज । पर्सा, बारासहित तराई-मधेशका जिल्लामा विगत केही दिनदेखि ह्वातै गर्मी बढेसँगै तातो हावा चल्न थालेकाले छ । स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेशका अधिकांस स्थानीय तहले विद्यालयमा विदा घोषणा गरिसकेका छन् भने अन्यलाई शर्तकता अपनाउन आग्रह गरिरहेका छन् । 

गर्मीयाम बढेसँगै विशेष गरी तराई-मधेश जिल्लामा तातो हावा (लू) चल्न थालेकाले त्यसबाट जोगिन दिउँसो घरबाट ननिस्कन चिकित्सकले आग्रह गरेका छन् । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दासले बाहिर निस्कनै परे लूबाट बच्न उच्च शतर्कता अपनाउनु पर्ने बताएका छन् ।

लू के हो र कसरी लाग्छ ?

नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लू लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लू लाग्छ) सम्भावना हुन्छ । लू लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना रहेको डा. दासको भनाइ छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लू’ लाग्नु भनिन्छ । डा. दासकाअनुसार अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ ।

लू लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने डा. दासले बताए ।

' लू 'बाट कसरी बच्ने

लूबाट जोगिन बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने जस्ता उपायहरु अपनाउन डा. दासले सुझाव दिए ।

Back to top