वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिकाको ११ औँ गाउँसभा आइतबार सम्पन्न भएको छ ।
गाउँ सभामा उपाध्यक्ष ममता महतो थारुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३८ करोड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित आय व्ययसहितको बजेट प्रस्तुत गरेकी छन् ।
गाउँपालिका अध्यक्ष दिनेश चौधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष चौधरीले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको दाबी गरे ।
गाउँ सभामा पालिकाले विभिन्न क्षेत्रमा योगदानपु-याएका व्यक्तित्व र कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरी सम्मानित पनि गरिएको वडा नम्बर २ का वडाध्यक्ष विजय गैह्रेले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको गाउँसभामा पूर्व गाविस अध्यक्ष एवम् समाजसेवी परमेश्वर गौरो, सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत संदेश कुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममको सञ्चालन शिक्षा शाखाका शम्भु साहले गरेका थिए ।