एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लामा नेतृत्व पक्षमाथि पक्षपातपूर्ण व्यवहार, सङ्गठनभित्र चलखेल तथा योगदान दिएका कार्यकर्तालाई पाखा लगाउने प्रयास भएको आरोप सार्वजनिक भएपछि सङ्गठनभित्रको विवाद चर्किएको छ ।
पार्टीभित्र सक्रिय केही नेता तथा कार्यकर्ताहरूले पर्सा नेतृत्वले योग्य, सक्षम र लामो समयदेखि पार्टी निर्माणमा योगदान दिँदै आएका व्यक्तिहरूलाई विभिन्न बहाना बनाएर अवसरबाट वञ्चित गरिरहेको बताएका छन् । उनीहरूका अनुसार पार्टीको सिद्धान्त, विचार र सङ्गठन विस्तारमा उल्लेखनीय भूमिका नखेलेका व्यक्तिहरूलाई व्यक्तिगत स्वार्थ र समूह बलियो बनाउन महत्त्वपूर्ण जिम्मेवारीमा राख्ने प्रवृत्ति बढ्दो छ ।
यसै सन्दर्भमा रास्वपा पर्सा क्षेत्र नम्बर १ की क्षेत्रीय सदस्य बबिता कुमारी धोबीले आफूलाई बदनियत पूर्वक महाधिवेशन प्रतिनिधिको सूचीबाट हटाइएको आरोप लगाएकी छन् । पार्टी विधानअनुसार क्षेत्रीय पदाधिकारीहरू स्वतः प्रतिनिधि हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले आफ्नो नाम हटाइनु विधि र विधानमाथिको खिल्ली भएको बताएकी छन् । उनले यस विषयमा नेतृत्वसँग स्पष्ट जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।
त्यस्तै, रास्वपा पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्यले २०७९ सालदेखि आफू र आफ्नो परिवार पार्टीको सिद्धान्त र अभियानमा निरन्तर सक्रिय रहेको बताएका छन् । उनले गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हरि पन्तलाई विजयी गराउन दिनरात खटिएको स्मरण गराउँदै हाल जिल्ला तथा क्षेत्रीय अधिवेशनको तयारीका क्रममा आफूलाई योजनाबद्ध रूपमा साइड लगाउने प्रयास भइरहेको आरोप लगाए ।
आर्यका अनुसार जिल्ला, क्षेत्रीय तथा नगर स्तरका विभिन्न विभागहरूमा नेतृत्व पक्षले आफ्ना निकटका व्यक्तिहरूलाई प्राथमिकता दिएको र सङ्गठनभित्र ‘भोट बैंक’ निर्माण गर्ने उद्देश्यले निर्णयहरू गरिएको छ ।
पार्टीभित्र बढ्दो असन्तुष्टि र आरोप–प्रत्यारोपका कारण रास्वपा पर्सामा सङ्गठनात्मक विवाद थप गहिरिँदै गएको देखिएको छ । स्थानीय कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेले अघि सारेको त्याग, पारदर्शिता र सुशासनको मूल्यमान्यताअनुरूप सङ्गठन सञ्चालन हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले आगामी अधिवेशन निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिँदै आन्तरिक विवादलाई संवादमार्फत समाधान गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।