तस्बिर : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३१ स्थित मिलन चोकको उत्तरतर्फ रहेको फुटबल ग्राउन्ड क्षेत्रबाट सशस्त्र प्रहरी बलले अवैध सालको काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको गाडी मोबाइल टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले जङ्गलबाट अवैध रूपमा कटान गरी साइकलमा लोड गरेर ल्याउँदै गरेको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ र ५ थान साइकल बरामद गरेको हो ।
संयुक्त टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए ।
बरामद काठ तथा साइकल आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।