वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअन्तर्गत स्थगित गरिएको निर्वाचन प्रक्रिया आज दिउँसो ३ बजेदेखि पुनः सुरु हुने भएको छ ।
निर्वाचन समिति संयोजक डा. नन्दन यादवले आइतबार सूचना जारी गर्दै निर्वाचन प्रक्रिया वीरगञ्जस्थित क्लासिक ब्यान्क्वेटमा सञ्चालन गरिने जानकारी दिएका हुन् । यसअघि वीरगञ्ज–९ स्थित होटेल गेटवेमा जारी निर्वाचन प्रक्रिया प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीका दुई समूहबिच झडप भएपछि स्थगित गरिएको थियो ।
शनिवार भएको विवादमा केही कार्यकर्ता घाइते भएका थिए भने स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेपसमेत गरेको थियो । त्यसपछि निर्वाचन समिति बैठक बसी प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको थियो ।
समिति संयोजक डा. यादवले पार्टीका सम्पूर्ण प्रतिनिधि तथा सम्बन्धित पक्षलाई निर्धारित समयमा उपस्थित भई निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् । उनले निर्वाचन प्रक्रिया विधानअनुसार पारदर्शी र व्यवस्थित ढङ्गले अगाडि बढाइने पनि स्पष्ट पारेका छन् ।
जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा उत्पन्न विवादका कारण केही समय अन्योल सिर्जना भए पनि आजदेखि प्रक्रिया पुनः सुरु भएसँगै अधिवेशन निर्धारित कार्यसूचीअनुसार अघि बढ्ने अपेक्षा गरिएको छ ।