×

वीरगञ्ज । प्रधानमन्त्री बालेन शाहले मध्यराति आफ्नो आधिकारिक फेसबुकमार्फत लेखेको व्यङ्ग्यात्मक स्ट्याटसले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नयाँ बहस सुरु भएको छ ।

प्रधानमन्त्री शाहले शनिवार राति लेखेका छन्, “मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ।” छोटो तर अर्थपूर्ण उक्त स्ट्याटसलाई धेरैले प्रशासनिक तहमा हुने पदीय भागबन्डा र दबाब संस्कृतिमाथिको सङ्केतका रूपमा बुझेका छन् ।

के हो पृष्ठभूमि?

स्रोतका अनुसार, उपराष्ट्रपति कार्यालयमा कार्यरत वरिष्ठ सचिव कृष्णहरि पुष्कर आगामी असार २४ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् । अवकाशअघि नै आफूलाई कुनै देशको राजदूत नियुक्त गरिदिन सहजीकरण गरिदिनुपर्ने आग्रह गर्दै उनले प्रधानमन्त्री शाहलाई व्यक्तिगत एसएमएस पठाएका थिए ।

उक्त सन्देशमा आफू सरकारी सेवाबाट निवृत्त हुन लागेको उल्लेख गर्दै उपयुक्त मुलुकमा राजदूत पदमा नियुक्तिका लागि राजनीतिक समन्वय गरिदिन आग्रह गरिएको थियो ।

एक बहालवाला विशिष्ट श्रेणीका सचिवले कूटनीतिक नियुक्तिका लागि सिधै प्रधानमन्त्रीसँग लबिङ गरेको विषयलाई प्रधानमन्त्री शाहले सार्वजनिक बहसको विषय बनाएका हुन् ।

कारबाही प्रक्रिया सुरु

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उक्त सन्देशप्रति प्रधानमन्त्रीको सचिवालयले प्रशासनिक मर्यादा र पदको दुरुपयोग भएको भन्दै आपत्ति जनाएको थियो । विषय मन्त्रिपरिषद् तथा सम्बन्धित निकायसम्म पुगेपछि सचिव पुष्करलाई तत्काल कारबाहीको दायरामा ल्याइएको छ ।

सरकारले उनलाई उपराष्ट्रपति कार्यालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडा समूहमा तान्ने निर्णय गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया

प्रधानमन्त्री शाहको स्ट्याटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ । कतिपयले यसलाई ‘व्यवस्थागत विकृति’ माथिको साहसिक प्रहार भन्दै समर्थन गरेका छन् भने केहीले यस्तो विषय सार्वजनिक रूपमा ल्याउनु उपयुक्त थियो कि थिएन भन्ने प्रश्न पनि उठाएका छन् ।

राजदूत नियुक्ति जस्तो संवेदनशील कूटनीतिक पदका लागि हुने लबिङ र दबाब संस्कृतिमाथि प्रधानमन्त्रीको व्यङ्ग्यले अहिले निजामती प्रशासनभित्र पारदर्शिता, आचरण र मर्यादाबारे गम्भीर बहस सुरु गरिदिएको छ ।

Back to top