वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरूलाई कृषि उपकरण, जैविक मल र विषादी वितरण गरिएको छ ।
वडा नम्बर ५ निचुटामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरीले किसानलाई सिँचाइका लागि विद्युतीय मोटर १० थान, विषादी छर्कने स्प्रे ट्याङ्की ३६ थान , जैविक मल र विषादी वितरण गरेका हुन् ।
तरकारी पकेट विकास कार्यक्रमका लागि गाउँपालिकाले विनियोजन गरेको ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरू खरिद गरी आइतबार वितरण गरिएको गाउँपालिकाको कृषि शाखा प्रमुख सीमा चौधरीले जानकारी दिइन् ।
किसानहरूलाई ती सामग्री प्रदान गर्दै गाउँपालिका अध्यक्ष चौधरीले कृषकहरूको बाहुल्यता रहेको आफ्नो पालिकाले नयाँ नीति तथा कार्यक्रम र बजेटमा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । व्यावसायिक कृषिमा लागेका किसानहरूलाई अझ प्रोत्साहित गर्न विभिन्न योजनाहरू ल्याइएको भन्दै उनले किसानको साथमा आफूहरू सदैव रहेको पनि बताए ।
त्यस अवसरमा गाउँपालिकाका कर्मचारी, छनौटमा परेको सहकारी संस्थाका कर्मचारी, अगुवा किसानलगायतको पनि उपस्थिति रहेको थियो ।