×

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकास्थित ऐतिहासिक पारसनाथ बाबाको मन्दिरमा जल अर्पण गरिएको छ ।

पवित्र साउन महिना पहिलो सोमबारका दिन सखुवाप्रसौनी – ५ महुवनस्थित पारसनाथ बाबाको मन्दिरमा स्थानीय महिला तथा युवाहरूले जल अर्पण गरेका हुन् । 
जल अर्पण गर्नका निम्ति महुवन, बलुवा, लखनपुर, ऐकडेर्वा र सोलकपुरलगायतका स्थानीय महिला र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो युवा । सोही वडास्थित सोलकपुरमा पर्ने उत्तर बाहिनी नदीबाट जल भरेर श्रद्धालुहरूले जल अर्पण गरेका थिए । 

जल अर्पण गर्ने यात्रामा सहभागी रहेका पर्सा जिल्लाको नामकरण बाबा पारसनाथको नामबाटै भएको र जिल्लालाई चिनाउन यस धार्मिक स्थलले अतुलनीय योगदान पुर्‍याएको पर्सा क्षेत्र ३ (क) का प्रदेशसभा सदस्य प्रमोद जयसवालले बताए ।

मन्दिरमा विगतका वर्षहरूदेखि नै श्रद्धालुहरूद्वारा जल अर्पण हुँदै आएकोले यस वर्ष पनि श्रद्धालुहरूको घुइँचो लागेको पुजारी राजेश पण्डितको भनाई छ । 

मन्दिरमा साउनको पहिलो सोमवार जल यात्रा गरी साउनभरि भव्य रूपले पूजा अजा गरिने चलन नै रहेको छ । श्रद्धालुहरूले बाबा पारसनाथसँग मागेको सम्पूर्ण मनोकाङ्क्षा पूर्ण हुने कुरामा सर्वसाधारणको विश्वास छ ।

Back to top