वीरगञ्ज । प्रतिभा रानी राईलाई किशोरावस्था सुरु हुँदा नै केटी साथी मन पर्न थाल्यो । त्यसैले अरूले आफ्नो नामसँग कुनै केटाको नाम जोडेर जिस्काउनु उनलाई रोमाञ्चित पार्ने विषय बनेन । केटाहरूप्रति आकर्षणको कुरा गर्दा पुलकित देखिने साथीहरूसँग त्यस बेला उनले कहिल्यै भन्न सकिनन्- “म फरक अनुभूति गर्छु ।”
सोलुखुम्बुस्थित गाउँमा हुर्किरहेकी उनका लागि फरकपनको आभास द्विविधाको विषय बन्यो । त्यसबारे उनी न आमासँग सोध्न सक्थिन् न शिक्षकसँग । “गाउँमा अधिकांश मानिसहरूले आज पनि एलजीबीटीआईक्यू शब्द सुनेका छैनन् । अर्थ बुझ्नु त टाढाको कुरा । त्यसैले मलाई आफ्नो यौनिकताबारे खुल्ने आँट थिएन,” २० वर्षीय राईले आफ्नो अनुभवको गुत्थी खोल्न सुरु गरिन् ।
सन् २०१७ को मध्यतिर उनी प्लस टू पढ्न काठमाडौँ आउने भइन् । उनले ठानेकी थिइन्- सहरमा त धेरै मानिस शिक्षित हुन्छन् । उनीहरूले लैङ्गिक र यौनिक अल्पसङ्ख्यकबारे सुनेका छन् । बुझेका छन् । म आफूलाई त्यहीँ अभिव्यक्त गर्छु ।
कलेज पढ्दै गर्दा उनी आफ्नो निकै मिल्ने साथीसँग यौनिकताबारे खुलिन् । तर उनले अपेक्षित प्रतिक्रिया पाइनन् ।
“उसलाई ‘अब तैँले मलाई नै मन पराउँछेस्’ भन्ने डर थियो । सारा संसार एकतिर उभिए पनि मसँगै हुने जस्तो लागेको साथी नै टाढिइन् । त्यसपछि आफ्नो यौनिकताबारे कसैलाई सुनाउने आँट गरिनँ,” उनले भनिन् ।
त्यो घटनापछि एक्लै रमाउन थालेकी राईलाई कोभिड महामारीले झनै एक्लो बनायो । उनका लागि सामाजिक सञ्जाल संसार बन्यो । उनले टिकटक बनाउन थालिन् । भिडिओहरूमा कहिले गाउँथिन्, कहिले नाच्थिन् अनि कहिलेकाहीँ साहित्यिक वाक्यांशहरू वाचन गर्थिन् ।
उनका भिडिओहरू बिस्तारै भाइरल हुन थाले जसले उनलाई उदयपुरकी १९ वर्षीय मुस्कान तामाङसँग जोड्यो । राईका भिडिओहरूकी प्रशंसक तामाङले एक दिन इन्स्टाग्राममा मेसेजमार्फत भनेकी थिइन्- ‘म तपाईँकी फ्यान हुँ ।‘
“जबाफ आयो । हामी कुरा गर्न थाल्यौँ। रोकिएनौँ । जति बोल्दै गयौँ, त्यति नजिक भयौँ,” तामाङले केही धकाउँदै आफ्नो कुरा राखिन् । बिस्तारै उनीहरूले एक अर्काप्रतिको भावना अभिव्यक्त गरे ।
सँगै गाउन थाले, यूट्यूबमा भ्लग बनाउन थाले । यो सबै भइरहँदा उनीहरूले आफ्नो सम्बन्धबारे आफ्ना दर्शकलाई जानकारी दिएका थिएनन् ।
उनीहरूले ठानेका थिए- पढाइ पूरा गर्ने अनि विदेश जाने । बाहिरको समाज समलिङ्गी सम्बन्धको विषयमा उदार छ। त्यसैले त्यहीँ गएर स्वतन्त्र भएर जिउने ।
“बिस्तारै केही फलोअर्सले हामी जोडी भएको अनुमान गर्न थाले । कतिले त भिडिओहरूमा एकदम अश्लील र पढ्न नसकिने गाली समेत गरे । त्यसपछि हामीले हाम्रो सम्बन्धको बारेमा आ-आफ्नो परिवारलाई बताउने निर्णय गर्यौँ,” तामाङ बोलिन् ।
दुवै जनाको परिवार उनीहरूको यौनिकता र सम्बन्धबारे थाहा पाउँदा “सोचेभन्दा सकारात्मक प्रस्तुत भएको” उनीहरूले जिकिर गरे ।
“बाबाआमाले नै समाजको प्रश्नभन्दा माथि सन्तानको खुसीलाई राखेपछि हामीलाई हौसला मिल्यो । त्यसपछि सबै सामाजिक सञ्जालमार्फत हामीले हाम्रो प्रेम सम्बन्धबारे बोल्यौँ,” राईले सुनाइन् ।
सम्बन्ध सार्वजनिक गरेपछि उनीहरूले सीमित मानिसको गालीभन्दा बढी अधिकांश मानिसको शुभेच्छामा ध्यान केन्द्रित गरे । अहिले उनीहरूको संयुक्त यूट्यूब च्यानलमा दुई लाख ६५ हजारभन्दा बढी सब्सक्राइबर छन् । टिकटकमा राईलाई चार लाख ३२ हजार र तामाङलाई झन्डै ६० हजार जनाले पछ्याएका छन् ।
“यौनिकताकै कारण गाउँबाट सहर गएपछि र सहरबाट विदेश गएपछि खुलेर बाँचौँला भन्ने सोच्नुपरेको थियो । तर समाजभन्दा पर सामाजिक सञ्जालमा हामीले खुल्ने ठाउँ भेट्यौँ । माया र सद्भाव भेट्यौँ,” आफूले भोगेको समाजबारे बोल्दै गर्दा राई केही गम्भीर सुनिइन् ।
तामाङले चाहिँ आफ्ना लागि “सार्वजनिक रूपमा हात समाउन पाउनु वा माया अभिव्यक्त गर्न पाउनु” ले अति खुसी दिएको बताइन् ।
उनले भनिन्, “लुकेर बस्नका लागि हामीले अपराध गरेका होइनौँ। प्रेम गरेका थियौँ । त्यसबारे बोल्यौँ । सोचेभन्दा सुन्दर प्रतिक्रियाहरूले नकारात्मक टिप्पणीहरूलाई छायामा पारेका छन् ।”
राई र तामाङजस्ता धेरैको प्रेम र सम्बन्धलाई आड भरोसा दिने काममा सञ्चारमाध्यम र सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गर्छन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियानकर्मी विवेक मगर ।
उनीहरू जस्ता समलैङ्गिक जोडीलाई हेर्ने दृष्टिकोणलाई “सकारात्मक आकार दिन टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता सञ्जाल र ब्लूड र ग्राइन्डरहरू जस्ता क्वेअर डेटिङ एप सहज र सहयोगी बनेको” उनको धारणा छ ।
तर सामाजिक सञ्जालको व्यापक प्रयोग हुनुअघि नै टेलिभिजन, पत्रपत्रिका र चलचित्रलगायत परम्परागत सञ्चारका माध्यमले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू प्रतिको सोच परिवर्तन गर्न भूमिका निर्वाह गरेको कतिपयले अभियानकर्मीले बताएका छन् ।
सुनगाभाको त्यो सुरुवात
सन् २०१३ मा एउटा प्रेम कथानक नेपाली चलचित्र प्रदर्शनमा आयो । तर त्यसमा त्यति बेलाका अन्य नेपाली चलचित्रहरूमा जस्तो- सुगठित शरीर र जुल्फी भएको हिरोले हिरोइनलाई कुनै गुन्डाबाट बचाउने दृश्य छैन । न त कुनै गरिब केटाले धनी बाबुको छोरीलाई पाउन सङ्घर्ष गरेको कथा छ ।
सुवर्ण थापा निर्देशित चलचित्र ‘सुनगाभा: डान्स अफ अर्किड्स’मा दुई युवतीहरू प्रेममा पर्छन् । चलचित्रमा काठमाडौँका दुई फरक आर्थिक तथा सामाजिक पृष्ठभूमि भएका युवतीहरू भावनात्मक अनि शारीरिक रूपमा नजिकिन्छन् ।
त्यसअघि उनीहरू आफ्नै यौनिक पहिचान ठम्याउनका निम्ति आन्तरिक द्वन्द्वबाट गुज्रन्छन् । एक अर्काप्रति आफ्नो भावना अभिव्यक्त गर्न मनोवैज्ञानिक सङ्घर्ष गर्छन् । बिस्तारै उनीहरू बिचको प्रेम झाँगिएपछि परिवार र समाजविरुद्ध बेग्लै विद्रोह गर्छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई उनीहरूको व्यवहार र शारीरिक हाउभाउका आधारमा ‘छक्का’, ‘हिजडा’जस्ता शब्दले हियाएर सम्बोधन गरिने त्यस समयमा उक्त चलचित्रले “विमर्शको नयाँ पाटो उजागर गरेको” कतिपयको ठम्याइ छ ।
‘सुनगाभा’को कथा त्यति बेलाका लागि “बोल्ड विषय” भएको बताउँछन् समीक्षक तथा लेखक यज्ञश । “फिल्मले समलिङ्गी सम्बन्धबारे त्यति बेलाको समाज कति अनुदार र अनभिज्ञ थियो भन्ने देखाएको छ,” उनले भने ।
चलचित्रहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हाँसोको पात्रका रूपमा प्रस्तुत गरिने त्यस समयमा धेरैले आफूलाई नेपाली समाजमा 'समयभन्दा छिटो' समलिङ्गी जोडीको कथा देखाएको आरोप लगाएको सम्झन्छन् निर्देशक थापा ।
“तर त्यो कथा मेरो कल्पनाको उपज थिएन । मान्छेले कल्पना पनि प्रकृति वा समाजमा भएकै विषय गर्ने हो । मैले आफ्नै घरमा समलिङ्गी जोडी भएको अवस्थामा कस्तो प्रतिक्रिया जनाउँछु वा स्वीकार गर्छु या गर्दिनँ भन्ने कल्पना गरेको कथा हो यो,” उनले भने ।
चलचित्रले सामाजिक प्रवृत्ति, कानुन र नियमलाई पनि सच्याउन सक्ने विश्वास राख्छन् उनी । यस चलचित्रमार्फत आफूले समलिङ्गी जोडीप्रति ‘स्वीकार्यता’ प्रेरित गर्न चाहेको उनले सुनाए ।
चलचित्रबारे देशभित्र र बाहिरका समीक्षकहरूले सकारात्मक टिप्पणी गरे । यद्यपि, आम दर्शकले ‘सुनगाभा रमाइलो नभएको’ गुनासो गरेको उनी सम्झन्छन् । अल्पसङ्ख्यक समुदायले ‘सुखद अन्त्य’ को चाह राखे ।
“एउटा शोमा उल्लेख्य सङ्ख्यामा दर्शक उपस्थित हुनुभयो । म सबैको प्रतिक्रिया लिँदै थिएँ । एक्कासि एक जना मानिसले व्यङ्ग्य र आक्रोश मिश्रित लवजमा भन्नुभयो ‘हाम्रो जातका केटी यस्तो हुन्छन् भनेर देखाएकोमा धन्यवाद है’ म अवाक् भएँ ।
यी सबै प्रतिक्रियाका अतिरिक्त चलचित्रले आम मानिसलाई समलिङ्गी सम्बन्धबारे जिज्ञासु बनाएको र यसबारे खोज्न थालेको ठानिन्छ ।
पछिल्ला दशकहरूमा सञ्चारका विभिन्न माध्यम र सामाजिक सञ्जालहरूले एलजीबिटीआईक्यू समुदायप्रति आम मानिसको दृष्टिकोण बदल्न सहयोग पुर्याएको स्विकार्छिन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको मुद्दामा काम गर्ने एक अग्रणी संस्था नील हीरा समाजकी अध्यक्ष पीँकी शीतल गुरुङ ।
“अहिले धेरै मानिसले हाम्रो समुदायको बारेमा बुझ्न चाहेको वा हाम्रो अधिकारका लागि निम्ति बोलेको देख्छु । उहाँहरूमा त्यो चेत र बुझाइको विकास हुनुमा सञ्चार माध्यम र सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका छ,” उनले आफ्नो मत राखिन् ।
उनको कुरालाई आड भरोसा दिन्छ- गत जुन महिनामा मनाइएको ‘प्राइड परेड’ का दृश्यहरूले । त्यस महिनामा लैङ्गिक तथा यौनिक समानताको सन्देश प्रवाह गर्न आयोजना भएका कार्यक्रमहरूबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह भए ।
तिनै सूचनाका आधारमा एलजीबीटीआईक्यू समुदाय बाहिरका समेत सयौँ युवा सडकमा उत्रिए । एलजीबीटीआईक्यू सयौँ अनलाइन पोस्टहरूको ह्यासट्यागमा प्रयोग भयो ।
यस्तो साथ र सहयोगको झल्को सन् २००० को दशकको मध्यदेखि देखिन थालेको गुरुङको विश्वास छ । त्यही समयको सेरोफेरोमा नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको आन्दोलन सुरु भएको थियो ।
परिवर्तन चियाउने अर्को झ्याल
सञ्चारका माध्यम हात हातमा पुग्नुले समलिङ्गी जोडीप्रति मानिसको धारणा परिवर्तनमा योगदान पुर्याएको विश्वास गर्छिन् अर्की चलचित्र निर्देशक अनिता पण्डित ।
पेसाले सफ्टवेयर इन्जिनियर पण्डितले समलिङ्गी युवतीहरू बिचको सम्बन्ध दर्साउने लघु चलचित्र ‘मीरा’ लेखन तथा निर्देशन गरेकी छन् । “एक जना निकट महिला साथीले आफ्नो यौनिक पहिचान खुट्ट्याउन गरेको सङ्घर्ष” लाई नजिकबाट नियालेकी उनले यस्तो विषयबारे आम मानिसले थाहा पाउनु पर्छ भन्ने ठानिन् ।
परिणामस्वरूप- चलचित्रमार्फत मानिसले यौनिक हिसाबमा आफू के हुँ भन्ने चिन्न र चिनेपछि भोग्नुपर्ने चुनौतीहरूबारे बुझाउन प्रयास गरेको उनको दाबी छ ।
“समलिङ्गी साथीहरू खुल्न नसकिरहेको परिस्थितिमा मीरामा आएका प्रतिक्रियाहरू फरक थिए । धेरैले फिल्मको प्राविधिक पाटोमा आलोचना र सुधारको सुझाव दिए । तर विषय उठानबारे प्रायले सकारात्मक विचार राखेका छन्,” उनले महसुस गरेको परिवर्तनबारे बताइन् ।
सञ्जालबाहिरको दुनियाँमा केहीले प्रश्न गरे, केहीले ‘त्यस्तो विषयमा फिल्म नबनाउन’ सुझाव दिए । तर फरक पुस्ता, पृष्ठभूमि र पेसाका मानिसहरूको फरक प्रतिक्रियाले आफूलाई झन् कौतूहल बनाएको बताइन् ।
आफूले उठान गरेको विषयलाई अझै वृहत् रूपमा अघि बढाउन सकिने महसुस गरिन् र सोही शीर्षकमा फिचर चलचित्र निर्माणको काम अघि बढाइन् ।
“दर्शकलाई केटा र केटीबिचको प्रेमलाई पर्दामा हेर्ने बानी लागेको छ । त्यसैले त्यस्तो कथालाई सहजै स्विकार्छन् । त्यसै गरी केटी र केटी वा केटा र केटाबिचको सम्बन्धलाई पनि चलचित्रलगायत माध्यमबाट चिनाउन र सामान्यीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास हो,” उनले भनिन् ।
सञ्जालले स्थापित गर्ने भाष्य
केही मानिसहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूको सम्बन्धबारे सचेत, सकारात्मक तथा सन्तुलित देखिए पनि सामाजिक सञ्जालमा आउने थुप्रै नकारात्मक टिप्पणीहरूले उनीहरूप्रतिको धारणा र दृष्टिकोण निर्माणमा असर पारिरहेको विचार अघि सार्छिन् अभियानकर्मी पीँकी गुरुङ ।
त्यस्ता सञ्जालहरूमा उत्पादन हुने सामग्रीको नियमन नहुँदा “बौद्धिक व्यक्तित्व” हरू नै अल्पसङ्ख्यकहरू प्रति असंवेदनशील प्रस्तुत हुने उनको निचोड छ ।
गत जुनको अन्त्यमा नेपालको सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न अन्तरिम आदेश दियो । लगत्तै हिन्दु राष्ट्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फेसबुकमा स्ट्याटस लेखे- “अदालतको आदेश त्रुटिपूर्ण छ ।”
उपप्रधानमन्त्रीसहित नौ पटक विभिन्न मन्त्रालय सम्हालेका थापाको धारणा हो- समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । उक्त पोस्टमा प्रतिक्रिया जनाउने अधिकांशले उनको विचारमा विमति जनाएका छन् ।
स्वयं पारलिङ्गी रहेकी गुरुङले सोही पोस्टको तल लेखेकी छन्, “नेपालमा संवैधानिक अधिकार पाइसकेको यो समुदायका लागि तपाईँले कानुनी लडाइँ लड्नुपर्नेमा अझै सम्मानित अदालतको निर्णयविरुद्ध अभिव्यक्ति दिँदै हुनुहुन्छ ।”
नेपालको संविधानको धारा १२, १८ र ४२ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषय समेटेको छ ।
यद्यपि केहीले थापाको पक्ष लिँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई “नेपालको मौलिक धर्म र संस्कृतिमाथि प्रहार” वा “डलरको खेती” भएको बताएका छन् ।
सयौँमा केहीले नकारात्मक प्रतिक्रिया जनाउनुलाई नौलो ठान्दिनन् प्रतिभा रानी राई र मुस्कान तामाङ ।
आफ्नै फलोअर्समध्ये केहीले आफूहरूको सम्बन्धलाई “अप्राकृतिक र ट्रेन्ड”को संज्ञा दिँदै जति गाली गरे पनि “त्यसको तुलनामा दोबर माया पाएको” उनीहरूले भने ।
अधिकारकर्मी विवेक मगरले पनि सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशबारे प्रकाशित खबर, सामाजिक सञ्जालमा आएका सामग्री र तिनीहरूमा आएको सकारात्मक प्रतिक्रियाले परिवर्तन सङ्केत गर्ने बताए ।
सानो देशको ठूलो निर्णय
नेपाल समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन अन्तरिम आदेश दिने पहिलो दक्षिण एसियाली मुलुक हो । एलजीबीटीआईक्यू अधिकारका लागि काम गर्ने संस्था ह्युमन राइट्स क्याम्पेनका अनुसार हालसम्म ३४ वटा देशहरूले मात्र समलिङ्गी विवाहलाई कानुनी ठहर गरेका छन् ।
यसले सम्बन्धमा रहेका र विवाहको प्रमाणपत्र प्राप्त गर्न खोजिरहेका समलिङ्गी जोडीहरूलाई परिवार, साथीभाइ र समाजको स्वीकारोक्तिका लागि निकै रोचक तथा सुखद ढङ्गमा मद्दत पुर्याएको मगरको बुझाइ छ ।
“किनभने विवाह केवल नीतिसँग जोडिएको विषय होइन । यो एक सामाजिक/सांस्कृतिक अभ्यास र विश्वास प्रणाली बनेको छ जसमा परिवारको साथले ठूलो भूमिका खेल्छ । जुन जोडीको सम्बन्धलाई परिवारले स्वीकार गरेको छ उनीहरूले अरू त्यस्तै जोडीलाई आफ्नो भविष्यबारे आशावादी बनाएको मैले देखेको छु,” उनले भने ।
तर समुदायकै कतिपय चाहिँ उक्त आदेशप्रति सकारात्मक नसुनिएको मगरले बताए । कतिपयलाई आदेश कार्यान्वयनको पाटो सहज नहुने आशङ्का रहेको बताउँदै उनले भने, “मैले क्वेअर समुदायको एउटा समूहसँग भेटेको छु जो यस विषयमा उत्साहित छैनन् । उनीहरू विवाह एक पितृसत्तात्मक संस्था हो भन्ने विश्वास गर्छन् र त्यसलाई आफ्नो जीवनमा लागु गर्न चाहँदैनन् ।”
यो लेख स्वेच्छा राउतले वीवीसी न्यूज नेपालीको लागि लेख्नु भएको छ ।