×

वीरगञ्ज । इरानका एक उच्च अधिकारीले रणनीतिक जलमार्ग स्ट्रेट अफ हार्मुजबाट आवत-जावत गर्ने जहाजहरूलाई 'आगो लगाइदिने' चेतावनीपछि ग्यास र तेलको मूल्य ह्वात्तै बढेको छ ।

इरान, अमेरिका र इजरायलबीचको तनाव जारी रहँदा बेलायतमा ग्यासको मूल्य ४६ प्रतिशत बढीले उकालो लागेको हो । यो मूल्य तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । कच्चा तेलको अन्तर्राष्ट्रिय सूचक ब्रेन्ट क्रुडको मूल्य ५ प्रतिशतले बढेर प्रतिब्यारेल ८१ डलर नाघेको छ ।

तेलको मूल्य बढ्दा सेयर बजार भने घटेको छ । बेलायतको प्रमुख सेयर सूचक २.६ प्रतिशतले घटेको छ । त्यस्तै जर्मनीको ३.६ प्रतिशत र फ्रान्सको २.९ प्रतिशतले सेयर घटेको छ ।

लगानीकर्ताहरूले यस द्वन्द्वले विश्व अर्थतन्त्रमा पार्ने असरबारे मूल्याङ्कन गरिरहेका छन् । विशेषतः मुद्रास्फीति र ब्याजदरमा पर्ने सम्भावित प्रभावबारे चिन्ता बढेको बताइएको छ ।

चार वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जा मूल्य बढेको थियो । अहिले त्यही अवस्था दोहोरिने आशंका व्यक्त गरिएको छ । बेलायतमा मंगलबार ग्यासको मूल्य १६५ पेन्स प्रति थर्म नाघेको थियो, जुन युक्रेन युद्ध सुरु भएको एक वर्षपछि देखिएको स्तरसँग मिल्दोजुल्दो हो । दिउँसोसम्म भने मूल्य घटेर १४६ पेन्स प्रति थर्ममा झरेको थियो ।

विश्वकै ठूलो ऊर्जा निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामाथि ‘सैन्य आक्रमण’ भएपछि उत्पादन रोकेको जनाएको छ । त्यसपछि उसले एल्युमिनियम, मेथानोल र मल बनाउन प्रयोग हुने युरिया उत्पादन पनि बन्द गर्ने घोषणा गरेको छ ।

शनिबार अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेयता बेलायतमा ग्यासको मूल्य दोब्बर भइसकेको छ । बेलायतमा जुलाईसम्म मूल्य सीमा (प्राइस क्याप) लागू भएकाले तत्काल घरायसी ऊर्जा बिलमा असर देखिने छैन ।

तेलको मूल्य ग्यासजत्तिकै तीव्र रूपमा नबढे पनि कच्चा तेलको आपूर्ति विविध स्रोतबाट सम्भव भएकाले केही लचकता रहेको बताइएको छ । तर, तेल महँगिएसँगै इन्धन, यातायात र खाद्य वस्तुको मूल्य बढ्ने सम्भावना छ ।

विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हार्मुज हुँदै विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुन्छ । तर, पछिल्ला दिनहरूमा केही जहाजमाथि आक्रमण भएपछि यातायात अवरुद्ध भएको छ ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी)का कमान्डरका सल्लाहकार इब्राहिम जब्बारीले राज्य टेलिभिजनसँग कुरा गर्दै जहाजहरूलाई ‘यस क्षेत्रमा नआउन’ चेतावनी दिएका छन् ।

यस तनावका कारण तेल ढुवानी खर्च पनि बढेको छ । लन्डन स्टक एक्सचेन्ज ग्रुपका अनुसार मध्यपूर्वबाट चीनसम्म तेल बोक्ने सुपरट्यांकर भाडा सोमबार प्रतिदिन ४ लाख डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो साताभन्दा झण्डै दोब्बर हो ।

लजिस्टिक्स प्रविधि कम्पनी फ्लेक्सपोर्टका अध्यक्ष सान्ने म्यान्डर्सले उक्त जलमार्ग प्रभावकारी रूपमा बन्द भएको बताएका छन् । उनले बीबीसीसँग कुरा गर्दै बीमा कम्पनीहरूले जोखिम लिन नचाहेकाले पनि समस्या बढेको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मध्यपूर्वको तनावले महँगी बढाउन सक्ने चिन्ता बढेको छ । उनले यस विषयमा छलफल गर्न अर्थमन्त्री स्कट बेसन्ट र ऊर्जा मन्त्री क्रिस राइटसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

जोखिम अनुसन्धान संस्था एभेलोन इन्टेलिजेन्सका श्रीनिवासन बालकृष्णनका अनुसार मध्यपूर्वी क्षेत्रको तनाव लामो समयसम्म रह्यो भने कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्न सक्छ । त्यसो भए अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन २५ सेन्टसम्म बढ्नसक्ने अनुमान गरिएको छ ।

एशियाली सेयर बजारमा पनि मध्यपूर्वी क्षेत्रको तनावमा ठूलो गिरावट देखिएको छ ।

Back to top