कोलेस्ट्रोल वसा तत्त्व हो जुन तपाईँको शरीरको सञ्चालन निम्ति जरुरी हुन्छ । यो कलेजोमा निर्माण हुन्छ र जनावरहरूबाट प्राप्त हुने खाद्य पदार्थहरू जस्तै मासु, अण्डा, दुग्ध उत्पादन, मक्खन र बोसोमा समेत पाइन्छ ।
रगतमा अत्यधिक कोलेस्ट्रोल शरीरका लागि हानिकारक हुन सक्छ र यसले मुटु रोगको जोखिम बढाउँछ । रगतमा उच्च कोलेस्ट्रोलको जोखिम निम्न कारणहरूले हुन् सक्छन् ।
- जब तपाईँको शरीर स्वयम्ले अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छ
- जब तपाईँले अत्यधिक चिल्लो र कोलेस्ट्रोलयुक्त खाने कुराहरूको सेवन गर्नुहुन्छ
- जब तपाईँलाई मधुमेह, हाइपोथाइरोइडिज्म भनिने निम्न थाइरोइड स्तर, वा मिर्गौलाको बिमारी छ
तपाईँको रगतमा बोसोका तिन मुख्य प्रकारहरू हुन्छन् ।
- हाई डेन्सिटी लिपोप्रोटिन्स (एचडीएल): यो “राम्रो” कोलेस्ट्रोलले तपाईँलाई रगतमा रहेको अतिरिक्त कोलेस्ट्रोललाई फर्काएर कलेजोमा पुर्याउँछ अनि तपाईँको शरीर त्यसबाट मुक्त हुन सक्छ ।
- लो डेन्सिटी लिपोप्रोटिन्स (एलडीएल): यो “नराम्रो” कोलेस्ट्रोल तपाईँको रक्त वाहिनी नसाहरूमा जम्मा हुन्छ । जसले तपाईँका रक्त वाहिनी नसाहरूलाई साँघुरो बनाउन सक्छ र रगतको सहज प्रवाहमा बाधा पुर्याउँछ ।
- ट्रिगलीसेराइड्सः अत्यधिक कार्बोहाइड्रेट्स खानाले तपाईँको ट्रिगलीसेराइड्स बढ्न सक्छ । उच्च ट्रिगलीसेराइड्स स्तर मुटुको रोग, हृदयाघात र मधुमेहसँग जोडिएको छ ।
रगतमा वसाको स्तर रगतको जाँचद्वारा नापिन्छ । रगतको जाँचले तपाईँको शरीरमा जम्मा रक्तको कोलेस्ट्रोल स्तर बताउने गर्दछ । एक स्वास्थ्यकर व्यक्तिमा यसको स्तर २ सय भन्दा कम हुनुपर्दछ । यदी २ सय भन्दा माथि छ भने चिकित्सकले तपाईँको एचडीएल, एलडीएल र ट्रिगलीसेराइड्सको जाँच गर्ने गर्छन् । शरीरमा एचडीएल कोलेस्ट्रोलको बढी हुनु राम्रो सङ्केत हो । यो जति बढी हुन्छ उतिकै राम्रो मानिन्छ । स्वास्थ्यकर व्यक्तिमा यो ६० अथवा सो भन्दा माथि हुन्छ । यद्यपि ४० भन्दा कम छ भने चिकित्सकको सुझाव अनुसार तपाईँले आफ्नो उपचार सुरु गर्नु उपयुक्त हुन्छ ।
त्यस्तै एलडीएल कोलेस्ट्रोल नराम्रो कोलेस्ट्रोल हो । यसको सङ्ख्या कम हुनु राम्रो हो, तर बढ्नु नराम्रो मानिन्छ । एक स्वास्थ्यकर व्यक्तिमा यसको स्तर १०० भन्दा कम हुनुपर्दछ । पछिल्लो समय तपाईँलाई कुनै मुटु सम्बन्धी समस्या भएको थियो भने चिकित्सकले तपाईँको एलडीएल ७० भन्दा कम नै होस् भन्ने चाहन्छन् । यद्यपि १३० भन्दा बढी छ भने तपाईँले चिकित्सकको सुझाव अनुसार उपचारको विधि अपनाउनु पर्ने हुन्छ ।
अन्त्यमा आउँछ ट्रिगलीसेराइड । एक स्वास्थ्यकर व्यक्तिमा यसको स्तर १५० भन्दा कम हुनुपर्दछ । यद्यपि यो २ सय भन्दा बढी छ भने चिकित्सकले तपाईँलाई उपचारको सुरु गर्नुपर्ने हुन्छ ।
आफ्नो कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न तपाईँले नियमित रूपमा चिकित्सकसँग भेट परामर्श लिँदै रगतको जाँच गराउनु पर्दछ । चिकित्सक अथवा कुनै स्वास्थ्य विज्ञको सुझाव अनुसार आफ्नो आहारमा परिवर्तन ल्याउनुका साथै दैनिक व्यायाम योग गर्नु पर्दछ । आहार, व्यायाम र योगासमेतले सहयोग नगरेको खण्डमा चिकित्सकको सुझाव अनुसार आवश्यक औषधीको सेवन गर्नुपर्दछ । त्यस्तै खानामा उच्च फाइबरयुक्त भोजन, जस्तै खस्रा अन्न, गेडागुडी, र ताजा फल एवम् तरकारीहरू पर्याप्त मात्रामा खानु पर्दछ भने अत्यधिक मात्रामा कोलेस्ट्रोल र बोसोयुक्त खाद्य पदार्थहरू जस्तै बफ, सुँगुरको मासु, चीज, तरयुक्त दूध वा बोसोको सेवन सीमित गर्नुपर्ने हुन्छ । त्यसै गरी कम्ती वसायुक्त खाद्य पदार्थहरू जस्तै छाला तारिएको चिकन ब्रेस्ट, माछा वा तर तारिएको दूध बढी खानु पर्दछ भने उच्च मात्रामा मोनो-सेचुरेटेड वसायुक्त खाद्य पदार्थहरू जस्तै जैतुन वा कनोलाको तेल तथा बदामहरूको सेवन गर्नुपर्ने हुन्छ । खानाहरू घिउ-तेलमा तार्नुको सट्टा उसिनेर, उमालेर, ग्रिल गरेर वा रापमा पकाएर खानु पर्दछ ।