वीरगञ्ज । नारायणी वाङ्मय प्रतिष्ठानले गोपाल अश्कद्वारा लिखित ‘कालो गुलाफ’ कृतिलाई पुरस्कृत गरेको छ । आदिकवी भानुभक्त आचार्यको जन्मजयन्ती समारोह एवम् नारायणी वाङ्मय कृति पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रतिष्ठानले दोसल्ला र सम्मान पत्रका साथै नगद २५ हजार राशीको पुरस्कार अश्कलाई प्रदान गरेको हो ।
२०८० साल भरी प्रकाशन भएका नारायणी अञ्चल र मधेश प्रदेशका १० वटा जिल्लाबाट पुरस्कारका लागि कृति माग गरिएको थियो । जसमा पाँच वटा कृति प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष डा. बिश्म्भर शर्माले जानकारी दिए । पाँच वटा कृतिलाई कृति मूल्याङ्कन समितिले मूल्याङ्कन गरेर कालो गुलाफलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कार ग्रहण गर्दै भाषा आयोगका सदस्यसमेत रहेका साहित्यकार गोपाल अश्कले आफ्नै ठाउँमा पुरस्कृत हुँदा भावुक भएको प्रतिक्रिया दिए । आफु राष्ट्रिय तथा अन्य सरकारी पुरस्कारबाट पुरस्कृत भएपनि नारायणी वाङ्मय प्रतिष्ठानको पुरस्कार आफ्नो लागि अझै विशेष उपलब्धी भएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ समालोचक प्राध्यापक केशब रेग्मीले साहित्यिक क्षेत्रमा वीरगञ्जको योगदान अविस्मरणीय रहेको बताए । भोजपुरी भाषीको बाहुल्यता भएको क्षेत्रबाट पनि नेपाली भाषाका अब्बल एवम् उत्कृष्ट कृति यहाँकै साहित्यकारले लेखेको उनको भनाई छ । प्रतिष्ठानले पुरस्कारलाई निरन्तरता दिएर लेखकहरुको हौसला वृद्धि गरीरहेको भन्दै उनले खुशी व्यक्त गरे ।
कृति मूल्याङ्कन समितिका सदस्य डा. नवराज रिजालले साहित्यकार तथा लेखकलाई ऊर्जा थप्ने प्रतिष्ठानले गरेका प्रयासको प्रसंशा गरे । ३८ वर्षमा प्रतिष्ठानले करिब ४० जनालाई पुरस्कृत गरेको उनले जानकारी दिए । प्रतिष्ठान सक्रिय भएसँगै यसले यहाँका अन्य साहित्यकार तथा लेखकलाई पनि ऊर्जा थपिएको उनले बताए ।
वीरगञ्जको ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले भाषा र संस्कृति नै हाम्रो पहिचान भएको बताए । साहित्य र संस्कृति नबुझेका व्यक्तिहरु क्रुर हुने भएकाले साहित्य र संस्कृतिले व्यक्तिलाई नम्र तथा सभ्य बनाउने उनको बुझाई छ । नवपुस्ताले आफ्नोपन बिर्सिदै गएकोप्रति चिन्ता व्यक्त गीतकार एवम् विश्लेषकसमेत रहेका कोइरालाले भाषा र संस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।
साहित्यकार गणेश प्रसाद लाठले प्रतिष्ठानको इतिहासदेखि वर्तमान अवस्थामा वीरगञ्जको साहित्यिक अवस्थाका बारेमा प्रकाश पारे । पछिल्लो समयमा साहित्यिक गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनले यसले नयाँ पुस्तालाई पनि साहित्यतर्फको अभिरुची बढ्दै गएको बताए ।
साहित्य क्षेत्रमा कलम चलाउनेलाई सम्मान गर्ने र नवसाहित्यकारलाई प्रेरित गर्ने अभिप्रायले प्रतिष्ठानले काम गरीरहेको प्रतिष्ठानका अध्यक्ष डा. शर्माले बताए । प्रतिष्ठानले साहित्यिक कार्यक्रमसँगै साहित्यकारको सम्मान र नवपुस्तालाई प्रोत्साहन गर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य अजमत अली अंसारी, काशिराम कट्टेल लगायतका साहित्यकारले रचना वाचन गरेका थिए । सोही अवसरमा अन्तरविद्यालयस्तरीय कविता प्रतियोगीता पनि सम्पन्न भएको छ । जसमा गौतम मा.वि.मा अध्ययनरत रुबी यादव प्रथम, रविनाथ चौहान द्वितिय, झरना कुमारी महरा तृतिय र रोहित शाह र कुसुम यादव शान्तवना भएका छन् ।
कार्यक्रममा समाजसेवी मधु राणा, श्याम पोख्रेल, बरिष्ठ पत्रकार जगदिश शर्मा लगायत वीरगञ्जका विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो । प्रतिष्ठानकी कोषाध्यक्ष कविता खड्काले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सदस्य गीता भण्डारीले गरेकी थिइन् ।
यसअघि आजै बिहान भानु जयन्तीकै अवसरमा प्रभातफेरी निकालिएको थियो । वीरगञ्जको भानु चौकस्थित भानुभक्तको शालिकमा माल्र्यापण गरेर घण्टाघर हुँदै माइस्थान, आदर्शनगर भएर मकालु होटलमा पुगेर प्रभातफेरी टुङ्गिएको थियो ।