×

वीरगञ्ज, ११ मंसिर पर्सा क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका संयुक्त उम्मेदवारहरुले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका उम्मेदवाहरु घरदैलोमा सक्रिय भएका हुन् ।

सोमबार बहुअर्वाभाठा र बैरियाबिर्ताको वडानम्बर ९ मा घरदैलो गरिएको छ । सो घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार, प्रदेशसभा सदस्य उम्मेदवार प्रह्लाद गिरीलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

रौनियारले सो क्षेत्रको प्रत्येक नगर र ग्रामीण क्षेत्रका बासिन्दाको घरघरमा पुगेर स्थानीयका समस्या र गुनासो सुनिरहेका छन् । उनले स्थानीयका समस्या पहिचान गरी समाधानका लागि नै आफू राजनीतिमा आएको बताउँदै मधेसी गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतले जिताएर मधेसको अधिकार विकास सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।

यसैबीच बहुअर्वाभाठामै एक समारोहबीच नेकपा एमालेका सय जनाभन्दा बढी कार्यकर्ता फोरममा प्रवेश गरेका छन् । एमालेले मेधसीलाई अधिकारविहीन बनाउने नीति लिएको र पर्साबाट जितेर गएका उम्मेदवारहरुले पनि विकास र स्थानीयका समस्यामा गैरजिम्मेवार बनेको भन्दै एमालेका स्थानीय अगुवा प्रभुलाल श्रीवास्तवसहितका कार्यकर्ता फोरममा आएका छन् । प्रवेशीहरुलाई फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका रौनियारले टीका लगाएर पार्टीमा स्वागत गरे ।

Back to top