×

पोखरिया । वीरगञ्ज यूथ एकेडेमीले पोखरिया गोल्डकप फुटबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा पर्साको विरुवागुठीलाई टाई ब्रेकरमा ५–३ गोलले पराजित गर्दै वीरगञ्जले उपाधि आफ्नो पक्षमा पारेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको नतिजा टाई ब्रेकरबाट गरिएको थियो ।

उपाधिसँगै वीरगञ्जले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता विरुवागुठीले नगद ५१ हजार १ सय ११ रुपैयाँमै चित्त बुझाउनु परेको छ ।

समापन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरीले विजेता र उपविजेता टिमका खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी र मेडल वितरण गरेका थिए ।

प्रतियोगिता दसैँ, तिहार र छठ पर्वको अवसरमा पोखरिया–४ को वडा समिति कार्यालय र नवदुर्गा पूजा समितिले आयोजना गरेको थियो । प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गत आइतबार गरेका थिए ।

प्रतियोगितामा ८ टिमहरूको सहभागिता रहेको थियो । समापन समारोहमा पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहान, उपमेयर रुबी ठाकुर, पूर्व मेयर दिपनारायण रौनियार, राष्ट्रिय क्रान्ति मुक्ति मोर्चाका नेता निजामुदिन समानी, काँग्रेस युवा नेता शैलेन्द्र यादव र काँग्रेसका क्षेत्रीय सचिव सुरेन्द्र सिंह लगायताको उपस्थिति थियो ।

Back to top