×

वीरगञ्ज । पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा स्थापित पोखरिया नगरपालिकामा स्थानीय जनताले सेवा सुविधाको अभाव र कर वृद्धिको विरोध गर्दै आक्रोश व्यक्त गरेका छन्। हालै नगरपालिकाले सम्पत्ति करमा गरेको अत्यधिक वृद्धिले स्थानीय बासिन्दालाई थप आर्थिक बोझ परेको गुनासो छ।

जनताको भनाइ अनुसार, पूर्व नगर प्रमुखको कार्यकालमा लगाइएको सम्पत्ति कर हाल करिब तीन सय रुपैयाँबाट पन्द्रह सयदेखि पाँच हजारसम्म बढाइएको छ। विशेष गरी देश आर्थिक सङ्कटको सामना गरिरहेका बेला यसरी कर वृद्धिले जनतालाई थप समस्यामा पारेको बताइएको छ।

स्थानीयले पोखरिया नगरपालिकालाई ‘भर्ती केन्द्र’मा परिणत गरेको आरोप पनि लगाएका छन्। जनप्रतिनिधि र कर्मचारी मिलेर ठगी धन्दा सञ्चालन गरेको र नगरपालिकाले निर्माण कार्य सम्पन्न भए पनि भुक्तानी नगरेको आरोपहरू उठाएका छन्।

जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई समयमा तलब दिन नसकेको, बीमा गराएका बिरामीहरूलाई औषधि उपलब्ध नगराएको, र नगर बिस्तारमा जग्गा धनी तथा खरिदकर्ताको समस्या समाधान नगरी अनावश्यक खर्चमा नगरको स्रोत प्रयोग भएको भन्दै स्थानीय जनताले ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रमा नागरिकहरूले निम्न माग राखेका छन्:

  • हालै बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने।
  • कर्मचारीहरूलाई समयमा तलब उपलब्ध गराउनुपर्ने।
  • नगरपालिकाभित्र भइरहेको ठगीधन्दाको तुरुन्त अन्त्य गर्नुपर्ने।

स्थानीयहरूले यी मागहरू एक महिनाभित्र पूरा नगरिए नगरपालिकाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

Back to top