वीरगञ्ज । आर्थिक विषयका विज्ञ र विश्लेषक उमेशचन्द्र ठाकुरको नयाँ पुस्तक ‘अर्थतन्त्रका आयाम’ बजारमा सार्वजनिक भएको छ। समसामयिक अर्थराजनीतिक सरोकारमा कलम चलाउँदै आएका ठाकुरको लेखसंग्रहको रुपमा यो पुस्तक पाठकको हातमा आएको हो।
विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक अभियान दैनिकमा प्रकाशित ७६ ओटा आलेखलाई संग्रहित गरेर पुस्तकको रुपमा ल्याइएको यो कृतिमा उद्योग, व्यापार, श्रम सम्बन्ध, र अर्थसामाजिक विषयमा सुक्ष्म विश्लेषण गरिएको छ। पुस्तकको संयोजन पत्रकार ओमप्रकाश खनालले गरेका छन्।
खनालका अनुसार, यो कृति विगतको समीक्षा गर्दै वर्तमानको आँखीझ्यालको रुपमा काम गर्ने र भविष्यलाई अँगाल्न सहायक हुनेछ। उनले ठाकुरको लेख संग्रहलाई समयको दस्तावेजका रुपमा पनि मूल्याङ्कन गरेका छन्।
औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनमा लामो अनुभव भएका र निजीक्षेत्रका संघसंस्थामा संलग्न रहेका ठाकुरले श्रम सम्बन्ध र औद्योगिक शान्तिबारे विशेष ज्ञान प्रस्तुत गरेका छन्। पुस्तक प्रकाशनको अवसरमा ठाकुरले औद्योगिक व्यवस्थापन र अर्थसामाजिक विषयमा आफ्नो अनुभवलाई संग्रहित पुस्तकमार्फत् पाठकमाझ पस्किन पाउँदा खुसी व्यक्त गर्दै यस यात्रामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।