वीरगञ्ज । पर्सा जिल्लामा विभिन्न स्थानमा अवैध गाँजा खेती फडानी गर्न प्रहरीले सक्रियता बढाएको छ ।
आज बिहान, सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत सखुवनिया र विन्दवास्नी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति तथा मनवा सबडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा पाँच बिघा जग्गामा अवैध रूपमा गरिएको गाँजा खेती फडानी गरिएको छ । यस क्रममा करिब ३५ हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, स्थानीयले राष्ट्रिय वन जङ्गलमा घाँस लिन जाने क्रममा त्यहाँ गाँजा खेती गरिएको पत्ता लागेको हो । सूचना प्राप्त हुनासाथ डिभिजन वन कार्यालय पर्सा, सशस्त्र प्रहरी सुरक्षा ब्यास कैम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतो, इलाका प्रहरी कार्यालय एकटाङ्गाका वरिष्ठ प्रहरी नायब निरीक्षक योगानन्द शाह, तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको संयुक्त टोलीले गाँजाको खेती फडानी गरी नष्ट गरेको थियो ।
केही वर्षअघि सोही क्षेत्रमा ४० हेक्टर क्षेत्रफलमा वन कार्यालयले तारबार गरी वृक्षारोपण गरेको थियो। वृक्षारोपण गरिएको स्थानमै अहिले गाँजा खेती फेला परेको हो ।
लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसारको कारबाही
नेपालमा लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत गाँजा तथा अन्य लागू औषधहरूको उत्पादन, बिक्री, वितरण र सेवनलाई प्रतिबन्ध गरिएको छ । ऐनले गाँजाको खेती, ओसारपसार, वा बिक्रीमा संलग्न हुने कार्यलाई कानुनी अपराध मान्दै कारबाहीको व्यवस्था गरेको छ । प्रहरी निरीक्षक मोहनजंग बुढा थापाका अनुसार यस क्षेत्रमा पहिले पनि गाँजा फडानी गरिएको थियो । यसअघि पर्सागढी नगरपालिकाको वडा नम्बर नम्बर ३, झबराहा तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको वडा नम्बर २, थरघाटी क्षेत्रमा पनि १ बिघा र २ बिघा क्षेत्रफलमा अवैध गाँजा खेती फडानी गरिएको थियो ।
प्रहरीको अनुरोध र सचेतना
प्रहरीले अवैध गाँजा खेती गर्न वा गराउन नहुने अनुरोध गर्दै यस कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी झन्झट बेहोर्नुपर्ने चेतावनी दिएको छ । साथै, कुनै स्थानमा गाँजा खेती गरिएको देखिएमा गोप्य रूपमा प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।