मुम्बई । बलिउड अभिनेता अर्जुन कपूरले आफ्नो र अभिनेत्री मलाइका अरोराको सम्बन्धविच्छेद पुष्टि गरेका छन्। ‘सिंघम अगेन’ फिल्मको प्रमोशनको क्रममा अर्जुनले आफूलाई सिंगल भएको बताउँदै यो ब्रेकअपको चर्चालाई अन्त्य गरेका हुन्। अर्जुनले एक कार्यक्रमका दौरान आफ्नो प्रेम जीवनबारे संक्षिप्त प्रतिक्रिया दिँदै अहिले सिंगल रहेको जानकारी दिए।
मलाइका र अर्जुनको ब्रेकअपबारे मिडियामा चर्चा लामो समयदेखि थियो। यसपटक मलाइकाको जन्मदिनमा अर्जुन अनुपस्थित देखिएपछि यो अड्कलबाजी थप बढेको थियो। अर्जुनको वक्तव्यपछि, मलाइकाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक सन्देश पोस्ट गरेकी छिन्, जसमा उनले संक्षिप्त भावनात्मक टिप्पणी गरेकी छन्।
दुवैको सम्बन्ध सन् २०१८ मा सार्वजनिक भएको थियो, जब उनीहरू एक फेशन शोमा सँगै देखिएका थिए। पछि उनीहरूले सामाजिक सञ्जालमा एकअर्कासँगको सम्बन्धलाई पुष्टि गर्दै सार्वजनिक रूपमा सँगै देखिन थालेका थिए। कफी विथ करणमा समेत अर्जुनले मलाइकासँगको आफ्नो योजनाहरूको बारेमा कुरा गरेका थिए।
मलाइका अरोरा सन् २०१७ मा अभिनेता अरबाज खानसँगको १९ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउँदै छुट्टिएकी थिइन्, र तिनीहरूका एक छोरा छन्।